न्युयोर्क- न्युयोर्कको नेपाल टी कलेक्टिभले नेपालमा सेवा विस्तार गर्दै, यस्तो छ विशेषता न्युयोर्कको नेपाल टी कलेक्टिभले नेपालका चिया प्रेमीमाझ उत्कृष्ट नेपाली चिया ल्याउँदै अब नेपालमा सेवा विस्तार गर्ने भएको छ । सन् २०१६ देखि नेपाल टी कलेक्टिभले नेपालका अग्र्यानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया संयुक्त राज्य अमेरिका लगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ । हालसम्म कलेक्टिभले १ करोड कप चिया विश्वभर बेचिसकेको छ ।
अब नेपाली बजारमा आफ्नो चिया ल्याउनका लागि नेपाल टी कलेक्टिभ निकै उत्साहित रहेको सहसंस्थापक अमिगो खड्काले जानकारी दिए । चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधि निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृतवमा रहेको नेपाल टी कलेक्टिभ चिया उद्योगमा हाबी रहेको पुराना तथा शोषक प्रवृत्तिका सप्लाइ चेनलाई तोड्ने अवधारणाका साथ स्थापना भएको थियो । नेपाली चिया व्यवसायीसँग विश्वव्यापी बजारको पहुँच नभएकाले दैनिक २ डलरभन्दा कम आम्दानी हुने गरी बिचौलियाहरूको निकै लामो सप्लाइ चेनमा भर पर्न बाध्य बनाएको थियो ।
नेपाल टी कलेक्टिभले आफ्ना किसानलाई सिधैं विश्वका ग्राहकसँग जोड्दै ग्राहक–उत्पादक दूरी निकै नै छोटो पारेको छ । वाल स्ट्रिटमा काम गर्नुका साथै विभिन्न व्यवसाय स्थापना तथा विस्तारसम्मको अनुभव बटुलेका अनुभवी विज्ञ अमिगो खड्का नेपाली चियालाई विश्वव्यापीको घरेलु ब्रान्ड बनाउने सपनाका साथ हालसालै सहसंस्थापकका रूपमा जोडिएका छन् । विश्वव्यापी रूपमा विस्तार गर्ने परिकल्पना अनुरूप कलेक्टिभले आफ्ना सेवा नेपालमा ल्याउन लागेको छ ।
हजारौं विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वादहरू अनुभव गर्न पाएका भए पनि नेपालका धेरै चियाप्रेमीले नेपालले दिन सक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर पाएका छैनन् । ‘नेपाली चियालाई विश्वभर नै यसको समृद्ध र नौलो स्वादका लागि निकै प्रशंसा गरिन्छ,’ सहसंस्थापक निश्चल बाँस्कोटा भन्छन्, ‘विशिष्ट गुणस्तरको प्रमाण स्वरूप हाम्रा लुज–लिफ चिया र अग्र्यानिक मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् ।
न्युयोर्क टाईम्स र फोर्ब्समा प्रस्तुत भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौं ।’ सहसंस्थापक अमिगो खड्का थप्छन्, ‘हामी नेपाली चिया प्रेमीसँग पनि यस्तै सम्बन्ध बनाउन चाहन्छौं । हाम्रो संस्कृतिमा सीटीसी चिया हावी भएको छ र धेरै नेपाली नेपालका अर्थोडक्स चियाका वास्तविक गुण र गुणस्तरबाट टाढिएका छन् । अब नेपाली चिया जगतलाई उकासेर हाम्रो आफ्नो चियाको स्वादको सराहना गर्न सिक्ने बेला आएको छ । आखिर स्कोटिसहरूको स्कच, फ्रेन्चहरूको वाइन र स्वीसहरूको चकलेट भनेजस्तै हामी नेपालीहरूको लागि भने त्यो चिज चिया नै हो ।’
उच्च दक्ष तथा अनुभवी चिया उत्पादकहरूसँग काम गर्दै नेपाल टी कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणको उत्कृष्ट विविधता प्रस्तुत गरिरहेको जनाइएको छ । चियाको सूचीमा कञ्चनजंघा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्ड जस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टि जस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्शका साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाश जस्ता पुरस्कृत सेतो चियासम्मका चिया रहेका छन् ।
कलेक्टिभले प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ, ‘नेपाल टी कलेक्टिभले तपाईंलाई आफूसँगै विश्वभरका हजारौं चिया प्रेमीसँग लुज–लिफ नेपाली चियाको स्वाद लिन आमन्त्रण गर्दछ । यसको चिया पर्यटन र टी टेस्टिङ अनुभवले नेपालका चिया प्रेमीलाई नेपाली अर्थोडक्स चियाको परिष्कृत स्वादको आनन्द लिँदै नेपालका विश्वपरिचित चिया पारखी र चिया निर्माताहरूसँग परिचित हुने अवसर प्रदान गर्छ ।’ आफ्नो चियाको स्वादलाई जाँच्न र थप परिष्कृत गर्न वा आफ्नो गुलियो दूध चियालाई थप गहिरो र ताजा स्वादसँग साट्न उत्सुक चिया प्रेमीले नेपाल टी कलेक्टिभका चिया अब दराज वा वेबसाइटबाट अनलाइन मगाउन सक्ने भएका छन् ।
न्युयोर्क र काठमाडौंमा संस्थापित नेपाल टी कलेक्टिभ नेपालका चिया उत्पादकका पहिलो तथा दोस्रो पुस्ताको नेतृत्वमा रहेको सार्वजनिक हितका लागि कार्यरत संस्था हो । लुज–लिफ अग्र्यानिक चिया सिधैं नेपालका साना तथा दीगो खेतबाट मगाएर नेपाल टी कलेक्टिभले उत्पादन स्थलमै प्याकेज गरिएका सबैभन्दा ताजा नेपाली अर्थोडक्स चिया विश्वभर वितरण गर्छ । नेपाल टी कलेक्टिभले किसान र चिया प्रेमीबीचको सामुदायिक सम्बन्धलाई बलियो बनाउन पारदर्शी प्रत्यक्ष–उपभोक्ता पद्धतिको प्रयोग गरिरहेको छ ।





प्रतिक्रिया