प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त, आतंकवादलाई पूरै परास्त गर्न जरुरी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको कडा निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका हुन् ।

न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा शुक्रबार बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा ४९ जनाको ज्यान गएको थियो। प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा घटनामा ज्यान गुमाएका न्युजिल्यान्डका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका छन्। साथै उनले घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले पठाएको समवेदना सन्देशमा आतंकवादलाई कुनै पनि किसिमले उचित मान्न नसकिने उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ–‘क्रूर र अमानवीय काम कुनै पनि प्रकारले उचित छैन। आतंकवादलाई पूरै परास्त गर्न जरुरी छ।’

मस्जिदमा नमाज चलिरहेका बेला आक्रमण भएको थियो। घटनापछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ।प्रधानमन्त्री जेसिन्डा अर्डनले यस घटनालाई न्युजिल्यान्डको ‘कालो दिन’ को संज्ञा दिएकी छन्।यो आक्रमणमा संलग्न २८ वर्षीय अस्ट्रेलियन युवकलाई पक्राउ गरेर अदालत पेस गरिएको छ। उनले अल नुर मस्जिदमा भएको आक्रमणको फेसबुक लाइभ गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement