काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र मानव अधिकार संरक्षणको अवस्थाबारे नेपाल सरकारका ४ वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरेको छ ।
सोमबार आयोजित छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको समयमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा र मानव अधिकार संरक्षणका लागि गरिएका तयारीबारे जानकारी दिन सुरक्षा निकायलाई आग्रह गरेका थिए ।
छलफलका क्रममा सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूले आवश्यक सहायता सामग्रीमा केही कमी रहे पनि उच्च मनोबलका साथ निर्वाचन सुरक्षा तयारी अघि बढाइएको जानकारी दिएका थिए । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन समन्वयात्मक ढंगले काम भइरहेको उनीहरूको भनाइ थियो ।
बैठकमा आयोगका सदस्यहरू, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको उपस्थिति रहेको थियो ।
आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षानिकायलाई आवश्यक सञ्चार, सुरक्षा, यातायात लगायतका सामग्रीहरूको यथोचित व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन प्रक्रियामा मानव अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार हुन आग्रह गरेको छ ।




प्रतिक्रिया