काठमाण्डु– एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले जारी गरेको सूचनाअनुसार ग्राहकहरूको खाताबाट काटिएको करको विवरण ‘आयकर ऐन, २०५८’ बमोजिम आन्तरिक राजश्व विभाग को स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक रहेको जनाएको छ।
ग्राहकहरूले बैंकको प्यान अपडेट पोर्टल वा ‘एनआईसी एशिया मोबाइल बैंकिङ (MoBank)’ एपमा रहेको ‘PAN Update’ विकल्पमार्फत आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको बैंक शाखामा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करको विवरण ई–टीडीएस प्रणालीमा समावेश गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची–१० मा करकट्टी विवरण मिलान गर्नेछ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ।
बैंकले प्यान अद्यावधिक नगरेका कारण ई–टीडीएसमा ब्याजकर दाखिला नभए वा पछि कर समायोजन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरेको छ।
त्यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको ‘My Profile’ अन्तर्गत रहेको ‘Change Email’ विकल्प प्रयोग गरी इमेल अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयमार्फत पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ।
यसअघि प्यान उपलब्ध गराइसके पनि करकट्टी विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। बैंकको ग्राहक सम्पर्क केन्द्रका नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ रहेका छन्।




प्रतिक्रिया