काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार एनआईसी एसिया बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका थिए।
सबै सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरेको बैंकले जनाएको छ। देशैभर २ सय ८४ शाखा कार्यालय रहेको बैंकका करिब १६ लाख ग्राहक रहेका छन्।




प्रतिक्रिया