काठमाण्डु – एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी विशेष बलले नियन्त्रणमा लिएपछि उनको शासनशैली पुनः चर्चामा आएको छ । आफूलाई साधारण जनताको नम्र नेता भनेर प्रस्तुत गर्न खोजे पनि मादुरोले कठोर शासन गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई लागुऔषध तस्करको आरोप लगाएपछि महिनौँसम्म दबाबमा परेका ६३ वर्षीय पूर्व बस चालक मादुरोले लगभग दैनिक रूपमा प्रत्यक्ष प्रसारण हुने र्यालीहरूमा टेक्नो सङ्गीतमा नाच्दै ‘नो वार, येस पिस !’
अंग्रेजीमै भन्ने नारा दोहोर्याएर दबाबलाई टार्ने प्रयास गर्थे । तर धेरै भेनेजुएलालीका लागि मादुरो कुनै दयालु शान्तिवादी नेता भने थिएनन् ।
उनकै शासनकालमा मनपरी गिरफ्तारी, मिलेमतोमा गरिएका मुद्दा, यातना र सेन्सरसिपका आरोपबीच करिब ७० लाख भेनेजुएलाली देश छाड्न बाध्य भए ।
दक्षिण अमेरिकी यो देशको अर्थतन्त्र धराशायी भयो । चार वर्ष लगातार अति–मुद्रास्फीति देखियो र एक दशकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) ८० प्रतिशतले घट्यो ।
सत्तामाथि पकड कडा बनाउँदै जाँदा मादुरोले चीन, क्युबा र रुसजस्ता केही अन्तर्राष्ट्रिय सहयोगीहरूका साथै सेना, सुरक्षा निकाय र अर्धसैनिक बलहरूको समर्थनमा झन् बढी निर्भरता बढाए ।
जुलाई २०२४ मा भएको विवादित निर्वाचनमा आफू विजयी भएको दाबीपछि भएका प्रदर्शनहरू दमन गर्दा २,४०० भन्दा बढी व्यक्ति पक्राउ परे, २८ जनाको मृत्यु भयो र करिब २०० जना घाइते भए । यो हिंसा उनले सन् २०१४, २०१७ र २०१९ मा विपक्षीमाथि गराएका घातक दमनहरूको प्रतिध्वनिजस्तै थियो ।
पूरा जुँगा र पछाडि फर्काएर मिलाइएको सेताम्मे हुँदै गएको कपाल भएका अग्ला कदका निकोलस मादुरो पहिलोपटक सन् २०१३ मा सत्तामा आएका थिए । त्यसपछि उनले सन् २०१८ र २०२४ मा पुनः निर्वाचन जितेको दाबी गरे । तर ती निर्वाचनहरूलाई व्यापक रूपमा धाँधलीपूर्ण भन्दै आलोचना गरियो ।
जनवरी २०२५ मा मादुरोले तेस्रो कार्यकालका लागि शपथ लिए, जसले उनलाई कुल १८ वर्षसम्म सत्तामा राख्ने थियो । यो अवधि उनका क्रान्तिकारी आदर्श पुरुष ह्युगो चाभेजभन्दा पनि लामो हुन्थ्यो, जसले राष्ट्रपति भवनमा १४ वर्ष बिताएका थिए ।
चाभेज सन् २०१३ मा क्यान्सरका कारण निधन हुनुभन्दा तीन महिना अघि मादुरोलाई आफ्नो उत्तराधिकारीका रूपमा चयन गर्नु अघि उनले सांसद, परराष्ट्रमन्त्री र उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका थिए ।
तर चाभेजजस्तो वक्तृत्वकला र करिश्मा नभएका मादुरोको चयनले सत्तारूढ युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) भित्र नै धेरैको भौँ तन्किएको थियो ।
सन् २०१३ को पहिलो निर्वाचनमा उनी मुश्किलले मात्र विजयी भएका थिए । त्यसपछि पनि उनले अमेरिकी प्रतिबन्धदेखि लिएर तेलको मूल्यमा आएको तीव्र गिरावटसम्मका एकपछि अर्को संकटको सामना गरे, जसले भेनेजुएलाको मुख्य आर्थिक आधार नै कमजोर बनाएको थियो ।
सन् २०१८ मा अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले संसद्का सभामुख हुआन ग्वाइदोलाई अन्तरिम राष्ट्रपति माने पनि उनको समानान्तर सरकार चाँडै नै विघटन भयो ।
जुलाई २०२४ को निर्वाचनपछि भने संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र केही ल्याटिन अमेरिकी छिमेकी राष्ट्रहरूले विपक्षी नेता एड्मुन्डो गोन्जालेज उरुतियालाई भेनेजुएलाको वैध नेता घोषणा गरे ।
यी सबै उतारचढावबीच मादुरोले आफ्नी पत्नी सिलिया फ्लोरेसको भरपर्दो साथ पाएका थिए । उनी मादुरोभन्दा सात वर्ष जेठी पूर्व अभियोजक हुन्, जसलाई मादुरोले ‘फस्र्ट कम्ब्याटेन्ट’ र ‘सिलिता’ भनेर सम्बोधन गर्छन् ।
फ्लोरेस स्वयं पनि सांसद थिइन् । संसदमा वर्षौं बिताएपछि उनले सन् २००६ देखि २०१० सम्म राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी सम्हालिन् र पछि मादुरोको भेनेजुएलामा पर्दा पछाडिबाट ठूलो प्रभाव जमाउन थालिन् ।
भेनेजुएलाको राजधानी कराकासमा मादुरोका तस्वीरहरू जताततै भवनहरूमा टाँसिएका देखिन्छन् । उनले आफूलाई आम जनताको सरल व्यक्ति भनेर प्रस्तुत गर्न निकै मेहनत गरेका थिए । उनी खुलेआम बेसबलका समर्थक र साल्सा नृत्यका प्रेमी हुन्, जसको झल्को उनी सधैं पत्नी साथमा राख्दै राज्य टेलिभिजनमा नाच्दै देखिनुबाट मिल्छ ।
कराकासमै जन्मिएका मादुरो आफूलाई माक्र्सवादी र ख्रीष्टियन दुवै मान्छन् । किशोरावस्थामा उनी रक ब्याण्डमा गिटार पनि बजाउँथे ।
उनले आफूलाई उच्चबर्गीय नदेखियोस् भनेर जानाजानी अंग्रेजी गलत बोल्ने गरेको दाबी पनि गरिन्छ ।
राष्ट्रपतिको रूपमा मादुरोले वास्तविक र कल्पित दुवै किसिमका थुप्रै चुनौती सामना गरे । सन् २०१८ मा विस्फोटक बोकेको ड्रोन आक्रमणको असफल प्रयासमा केही सैनिक घाइते भएका थिए ।
भेनेजुएलाको राजनीतिक र आर्थिक समस्याको दोषबाट उम्कन उनले चाभेजकालीन अमेरिका–विरोधी षड्यन्त्र सिद्धान्तलाई निरन्तरता दिए र आफूलाई सत्ताच्युत गर्न अमेरिका लागिपरेको आरोप बारम्बार लगाउँदै आए ।
आफूलाई अन्तर्राष्ट्रिय षड्यन्त्रको सिकारका रूपमा प्रस्तुत गर्दै मादुरोले राजनीतिक असहमतिको ठाउँहरू बन्द गरे, असन्तुष्ट र प्रतिस्पर्धीहरूलाई कानुनी प्रक्रियाको खासै ख्याल नगरी जेल हाल्दै गए ।
मादुरोले व्यवहारिक राजनीति (रियलपोलिटिक्स) मा पनि आफूलाई चतुर साबित गरेका छन् । सन् २०२४ मा लोकतान्त्रिक निर्वाचन गराउने सहमतिमा विपक्षीसँग सहमति जनाएपछि उनले अमेरिकी प्रतिबन्धहरू केही खुकुलो बनाउने र अन्य छुटहरू हासिल गर्न सफल भएका थिए ।
तर उनले ती सर्तहरू पालना गरेनन् र त्यसपछि केही प्रतिबन्धहरू छिट्टै पुनः लागू गरिए । लामो समयदेखि दुःख भोग्दै आएका भेनेजुएलालीहरूको जीवनमा मादुरो झन्डै सर्वत्र देखिने पात्र बनेका छन् । नियमित टेलिभिजन उपस्थितिमा उनी मुठ्ठी हल्लाउँदै साम्राज्यवाद–विरोधी नारा चिच्याइरहन्थे ।
उनी पर्दा र छापामा पनि आफ्नै अनुहारको कार्टुन पात्रका रूपमा बारम्बार देखिन्थे । क्याप लगाएको ‘सुपर–बिगोटे’ (सुपर–मुछे) नामको सुपरहिरो, जो ‘साम्राज्यवादसँग युद्धमा’ रहेको देखाइन्छ ।




प्रतिक्रिया