गुप्तचर प्रमुखको कार्यकाल सकिंदै, खरेलले जिम्मेवारी पाउने सम्भावना बलियो


काठमाण्डु– देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्तिको लागी गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री कार्यालयको मातहत रहेको विभागको प्रमुख रहेका आइजीपी गणेश अधिकारीको ३ वर्षे नियमित कार्यकाल आगामी पुष २३ गतेबाट सकिंदैछ ।

सरकारले अधिकारीको पदावधी थप गर्न खोजेपनि उनी स्वंयम् थपको लागी तयार नभएको स्रोतको दावी छ । आइजीपी अधिकारीले अवकास पाउने दिन नजिक भएसंगै उनको ठाउंमा सरकारले आईजिपी नियुक्तीको तयारी थालेको हो । हाल गूप्तचर विभागमा दुई जना एआईजीको दरबन्दी छ । जसमध्ये एउटा दरबन्दी फाजिलको हो । गूप्तचरका एआईजी यदु खरेल विभागको प्रमुख बन्ने सम्भावना बलियो छ ।

प्रधानमन्त्री कार्यालय निकट स्रोतले दिएको जानकारीअनुसार उनलाई जिम्मेवारी दिने निष्कर्शमा सरकार पुगेको हो । हालका प्रमुख अधिकारीले पनि उनलाई बनाउनुपर्ने पक्षमा रहेको बताइन्छ । अर्का एआईजी यादव रेग्मी पनि आफुलाई पूर्ववर्ती सरकारले अन्याय गरेको भन्दै आइजीपी बन्न लविङमा लागेका छन् । तर, सरकारले खरेललाई नै बनाउने सम्भावना बलियो छ ।

खरेल गूप्तचर विभागको जम्मा साढे सात महिना प्रमुख बन्नेछन । उनि हालका आइजिपी अधिकारीका ब्याचमेट समेत हुन । खरेलसंग फिल्डमा बसेको खासै अनुभव छैन । उनि एसएसपी हुंदा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत थिए ।खरेलसंग बढिजस्तो समय मुख्यालयमै बसेर काम गरेको अनुभव छ । खरेलले चीनबाट ९ महिनाको उच्च तहको कोर्स गरेका छन् ।

गूप्तचर विभागको ऐन पुर्नलेखन भएर विशेष सेवा ऐन २०४२ संसोधनका लागी अहिले राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा थन्किएको छ । उक्त ऐन तुरुन्त पास हुने सम्भावना कम छ । त्यसमा उमेर हद ६० वर्ष बनाउने प्रस्ताव उल्लेख छ । यो ऐन पास गर्न लविङ चर्को भएपनि तत्काल पारित हुने सम्भावना भने देखिदैन ।

अधिकारीको कार्यकालमा सुधारका धेरै काम भएको र संगठनको भूमिका प्रभावकारी भएको गूप्तचरकै अधिकारीहरु बताउंछन् । उनि प्रमुख बनेदेखि खासै विवादमा समेत आएको छैनन । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियम परिवर्तन गरेर राख्न खोजेपनि उनले नियमित प्रक्रियाबाट नै बिदा हुने बताएका थिए ।

अहिलेलाई खरेल नै प्रमुख बन्ने लगभग निश्चित भएपनि यसपछिको आईजिपीको लागी भने दौड सुरु भएको छ । अधिकारीको अवकासपछि रिक्त हुने एआइजीमा बढुवा हुन गूप्तचर अधिकारीहरु दौडमा रहेका छन् । जसमध्ये हाल प्रदेश दुईमा रहेका डिआईजी ओम जोशीको सम्भावना बलियो छ ।

सुदुरपश्चिम घर भएका जोशी विभागमा सक्षम र व्यवसायिक अधिकारीका रुपमा चिनिन्छन् । उनिपछि हरिहर पौडेल,हुतराज थापा र कुलदिप थापा पनि एआईजी बन्ने दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement