काठमाण्डु – पहिला देश (पिलुल्स रिभोल्यूसन) ले मंसिर ५ गतेदेखि पुस १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ ।
‘पहिला देश’ले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको माग समेत गरेको छ ।
पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरूले उनको विस्थापन र देशको निकासका लागि संघर्षको घोषणा गर्नुपरेको बताए ।
पहिला देशका प्रवक्ता डा. निकोलस भुसालले जेनजी युवाहरूलाई गोली हान्न आदेश दिने तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पक्राउ गर्नुको सट्टा आफूहरूलाई पक्रिने कार्य गैरन्यायीक भएको जिकिर गरेका छन् ।
बदलिँदो परिस्थितिअनुसार देशलाई नयाँ निकास दिनुको सट्टा भ्रष्टाचार र कुशासनलाई नै निरन्तरता दिने वर्तमान सरकारका प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भुसालले बताए ।
पहिला देशका सचिवालय सदस्य धरणीधर दाहालले सुशीला कार्की सिंहदरबारमा फोटो झुण्ड्याउन मात्रै आएको जिकिर गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन नहुने अवस्थामा फागुन २१ गते चुनाव हुन नदिने चेतावनी दिए ।
संकल्प यात्रा अभियान :
मंसिर ५ गते ताप्लेजुङ र पाँचथर, मंसिर ६ गते इलामा र झापा, ७ गते मोरङ–सुनसरी, ९ गते धनकुटा–भोजपुर, १० गते खोटाङ, ११ गते ओखलढुङ्गा–सिन्धुली, १३ गते सप्तरी, सिराहा र धनुषा, १५ गते बारा, पर्सा र रौतहट, १६ गते मकवानपुर, चितवन र नवलपरासी, १८ गते रुपन्देही, कपिलवस्तु र दाङ, १९ गते प्युठान, रोल्पा र रुकुम, २१ गते सल्यान र जाजरकोट, २१ गते सुर्खेत र दैलेख, २३ गते जुम्ला र कालिकोट, २५ गते बझाङ र बाजुरा, २६ गते दार्चुला र बैतडी, २८ गते डडेल्धुरा र कञ्चनपुर, ३० गते कैलाली र डोटी, पुस १ गते अछाम, ३ गते बाँके र बर्दिया, ४ गते लिम्पियाधुरा ।
त्यसैगरी काठमाण्डु र वरिपरिका ७ जिल्लामा पुस ७ गतेदेखि १० गतेसम्म पहिला देश (पिलुल्स रिभोल्यूसन)ले अभियान चलाउने जानकारी दिएको छ ।
देश दौडाहा सकेपछि पुस १५ गते राजधानी काठमाण्डुमा बृहत् राष्ट्रिय भेला गर्ने अभियानले जनाएको छ ।




प्रतिक्रिया