काठमाण्डु– पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० आरोहीको मृत्यु भएको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिदा घोषणा गरिएको छ ।
पालिकाले आइतबार एक सूचना जारी गर्दै पुर्जासहित दिवंगत आरोहीप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पणका लागि सोमबार सार्वजनिक बिदा घोषणा गरिएको हो ।
सूचनामा पालिकाभर स्वास्थ्य तथा शिक्षण संस्था र सबै वडा कार्यालयहरुमा बिदा दिइने उल्लेख छ ।
पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको गाउँपालिकाले जनाएको छ ।
‘निम्स दाई’ अन्नपूर्ण गाउँपालिका–२ दाना गाउँमा जन्मिएका थिए ।
नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्याउन, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पुर्याएको योगदान सदैव स्मरणीय रहिरहने पालिकाले जनाएको छ ।




प्रतिक्रिया