काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के गर्यो भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के ग¥यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन्।
विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको उनको दाबी छ । उनले पार्टीका तर्फबाट चार जना प्रधानमन्त्री हुँदा नै देशमा विकासको काम भएको, देखिने काम भएको र यो समय एकदम थोरै रहेको तर्क गरेका छन् । एमालेका चार जना प्रधानमन्त्रीले ८ वर्ष मात्रै शासन गरेको र यही बेला देशले प्रगतिको फड्को मारेको आचार्यको दाबी छ ।
आचार्यका अनुसार पछिल्लो पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका हुन्। तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेको उल्लेख गरेका छन्। यी सबै अवधि जोड्दा एमालेले विगत ३५ वर्षमा कुल ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको छ।
उनले लेखेका छन्, ‘३५ वर्षमा झन्डै २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेका हुन्, एमालेले नेतृत्व गरेको छोटो अवधिमा भएका काम आफैँमा ऐतिहासिक र युगान्तकारी छन् ।’
‘ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको ऐतिहासिक सुरुवात र त्यसको वृद्धि, सुशासन, बलियो राष्ट्रियताको अडान तथा गौरवका ठूला पूर्वाधार विकासका हिसाबले देशले यही अवधिमा असाधारण उपलब्धि हासिल गरेको हो । नागरिकका मूर्च्छित सपना ब्युँझाउने र राज्य एवम् प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेका हुन्, उनले लेखेका छन् ।
२०४८ पछिका २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेको आचार्यले लेखेका छन्। ३५ वर्षको एक चौथाइ समय पनि एमालेले सत्ता चलाएको छैन। अनि सबै बिग्रिएका कामको सबै दोष एमालेलाई थोपरेर हुन्छ भन्दै उनले प्रश्न गरेका छन्।
आचार्यले नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझाउने र राज्य एवं प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेका हुन् भन्ने दाबी पनि गरेका छन्। उनले तथ्यका आधारमा मात्रै राजनीतिक मूल्यांकन गर्न आग्रह गर्दै भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण र आलोचना गर्न आग्रह गरेका छन्।





प्रतिक्रिया