साढे ३३ किलो सुनकाण्ड : पूर्वडीआईजी निरौलालाई विराटनगर लगियो


काठमाडौं- साढे ३३ किलो सुन तस्करी गर्न सघाएको आरोपमा आइतबार काठमाडौंमा पक्राउ गरिएका पूर्वडीआईजी गोविन्द निरौलालाई थप अनुसन्धानका लागि सोमबार विराटनगर लगिएको छ ।  उनलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

अदालतले एक साता म्याद थपेको छ । हवाईमार्गबाट विराटनगर पु¥याइएका निरौलामाथि कर्तव्य ज्यान र संगठित अपराधको मुद्दामा अनुसन्धान जारी छ । सुन काण्डमा मोरङका सनम शाक्यको हत्या भएको थियो । काठमाडौंको त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको छानबिन समितिले निरौलाको बयान लिएको थियो ।

तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ आफ्ना साथी नेत्र उप्रेतीका छोरा रहेको बयान छानबिन समितिलाई दिएका थिए । गोरे सुनकाण्डका भरिया सनम शाक्यको हत्या अभियुक्त हुन् । गएको माघमा विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गौशालाबाट बरामद गर्दा पनि निरौला विमानस्थलका प्रहरी प्रमुख थिए ।

यातना दिने क्रममा सुनसरीको धरानमा मृतक शाक्यले ‘डीआईजी गोविन्द मामा’ भनेपछि सुनकाण्डमा निरौलाको संलग्नतामाथि अनुसन्धान भएको हो । सुन काण्डमा संलग्नता देखिएका थाई एयरवेजका वरिष्ठ प्राविधिक सानु वनले २२ माघमा विमानस्थलमा आत्महत्या गरे भने अर्का भरिया प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबार अनामनगरमा झुन्डिएर आत्महत्या गरेका थिए ।

सुन तस्करीमा सहयोग गरेको आरोपमा उनलाई विमानस्थलबाट सरुवा गरिएको थियो । गृह सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा रहेको छानबिन समितिले सो काण्डमा संलग्न रहेको आशंका गरी नेपाल एयरलायन्सका कर्मचारीलाई समेत पक्राउ गरेकोे छ । प्रहरीले एयरलाइन्सका आठ कर्मचारीसहित २१ जनालाई पक्राउ गरिसकेका छ । बहालवाला प्रहरीहरूलाई समेत अनुसन्धानको घेरामा राखिएको बताइएको छ । अाजकाे राजधानी दैनिकमा याे खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement