निर्वाचन ०८२ : ४९ उम्मेदवारले लिए मनोनयन फिर्ता, एक जनाको खारेज

निर्वाचन ०८२ : ४९ उम्मेदवारले लिए मनोनयन फिर्ता, एक जनाको खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

एक जनाको उम्मेदवारी खारेज भएको छ। कैलाली–१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरेको हो। 

उनले भने,‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए । दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका छन् । आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन् ।’

उनले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामावाली छपाई लगायतका कार्यहरु सञ्चालन भएको पनि उनले बताए ।

उनले भने,‘माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ भने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु सञ्चालन भएका छन्।’

आयोगको अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाब चिन्ह् प्रदान गर्ने कार्यक्रम रहेको छ ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते शनिबार समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने त्यस अवसरमा जानकारी दिइयो ।

प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ ।