निर्वाचन ०८२ : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न

निर्वाचन ०८२ : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।

समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यससँगै, प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फका २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको जानकारी दिए । उनका अनुसार मतपत्र छपाइ कार्य करिब १५ दिनभित्र सम्पन्न हुने छ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदानअघि मतपत्रको सुरक्षा व्यवस्थासहित निर्वाचनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे । यसअघि जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फ करिब ११ लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको छ।