फागुन २१ गते नै चुनाव हुन्छ : निर्वाचन आयोग

फागुन २१ गते नै चुनाव हुन्छ : निर्वाचन आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्।

आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा फैलाइएका अनावश्यक भ्रम र संशयको पछि नलाग्न उम्मेदवार तथा राजनीतिक दलहरूलाई सुझाव दिएका हुन् ।

उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताए । अझै पनि केही उम्मेदवाहरूले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको बताउँदै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न उनले सुझाव दिए ।

उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने बताए । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै उनले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गरे ।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ ।

नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ ।