निर्मल पुर्जा पयर्टन ‘सद्भावना दूत’ नियुक्त

निर्मल पुर्जा पयर्टन ‘सद्भावना दूत’ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स) नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत (द ग्लोबल गुडविल एम्बासडर फर नेपाल्ज टुरिजम) बनेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेका हुन् ।मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी निर्मललाई बिहीबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ ।

मन्त्री आलेले आरोही पुर्जाको साहसिक हिमाल आरोहणयात्राको सम्मान गर्दै थप सफलताको शुभकामना दिए । उनले आरोही पुर्जालाई पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गर्नु आफ्नो कार्यकालको स्मरणीय काममध्येकै एक रहेको उल्लेख गरे ।

आरोही पुर्जामार्फत नेपालको पर्यटन क्षेत्रको व्यापक प्रचार हुने र कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय फेरि माथि उठ्ने विश्वास रहेको मन्त्री आलेले बताए । यस्तै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार महसुस गरेको बताउँदै आगामी दिनमा नेपाललाई विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताए ।

उनले भने, ‘मलाई सद्भावना दूत नियुक्त गरेर नेपाल सरकारले थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु ।’ पर्वतारोही पुर्जाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको छ । आरोही पूर्जाले निर्माण गरेको ‘१४ पिक्स: नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री संसारभर चर्चित रहेको छ ।