निर्मला हत्याको ४७ महिना : हत्यारा पत्ता लगाउन चार आईजीपी ‘असफल’

निर्मला हत्याको ४७ महिना : हत्यारा पत्ता लगाउन चार आईजीपी ‘असफल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा लगाउन प्रहरी असफल भएको छ । हत्या भएको चार वर्ष पुग्न लाग्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको हो ।

निर्मला हत्याकाण्डको पछिल्लो अवधिमा सुरक्षा निकायमा चार आईजीपी फेरिइसकेका छन् । सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली र शैलेश थापा क्षेत्रीले अवकाश पाइसकेका छन् भने अहिले प्रहरीको नेतृत्व धीरजप्रताप सिंहले सम्हालिरहेका छन् ।

०७५ साल साउन १० गते उखुबारीमा मृत फेला परेकी निर्मलाको हत्यारासम्म पुग्न प्रहरीले हालसम्म ‘क्लु’ नै पाउन सकेको छैन । साथीको घरमा ‘नोटबुक’ लिन गएकी निर्मलाको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा घरभन्दा एक किलोमिटरको दुरीमा उखुबारीमा फेला परेको थियो ।

साथीको घर गएकी उनी साँझसम्म पनि नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो । उनको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट र प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले ०७५ भदौ महिनामै भीमदत्त नगरपालिका–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए निर्मलाको स्वाबसँग मेल नखाएपछि उनी छुटेका थिए ।

दिलीपलाई पक्राउ गरेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय ज्यान समेत गएको थियो ।

घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष तत्कालीन सरकारले गठन गरेको समितिले निकालेको थियो । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यसबेला नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सत्तापक्षले अपराधी लुकाउन खोजेको आरोप लगाएका थिए ।

तर, अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री छन् । प्रहरी अधिकारीले तत्कालीन समयमा स्थानीयले गरेको आन्दोलनका कारण अनुसन्धानमा बाधा पुगेको बताउँदै आएका छन् ।

अनुसन्धानका लागि सुरुवाती समयदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली कञ्चनपुरमा छ । अनुसन्धानका क्रममा प्रहरीले हालसम्म ६३१ जनामाथि सोधपुछ गरेको छ भने १०७ जनाको डीएनए परीक्षण समेत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण कुनै घटनामा अपराधि पत्ता लगाउन समय लाग्ने बताउँछन् । ‘निर्मला बलात्कार तथा हत्या प्रकरणमा अझै अनुसन्धान जारी छ । धेरैजनालाई अनुसन्धानको दायरामा राखेका छौं,’ उनले भने, ‘कुनै घटनामा अपराधी पत्ता लाग्न समय लाग्ने गर्छ, तर एकदिन अपराधि पत्ता लागेरै छोड्छ ।’

प्रहरीले लागुऔषध दुर्व्यसनीमा संलग्न व्यक्ति, विभिन्न अपराधिक पृष्ठभूमिका अनैतिक क्रियाकलापमा संलग्न, छिमेकीलगायत व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

यता घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू भने निर्मला हत्याकाण्डको अनुसन्धान जटिल बन्दै गएको बताउँछन् ।