निर्मला हत्या प्रकरण : ‘भजाइनल स्वाब’ सँग आमा दुर्गादेवीको डीएनए मिल्यो

निर्मला हत्या प्रकरण : ‘भजाइनल स्वाब’ सँग आमा दुर्गादेवीको डीएनए मिल्यो


महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको योनीबाट संकलन गरिएको ‘भजाइनल स्वाब’ बाट तयार पारिएको डीएनए प्रोफाइलसँग आमा दुर्गादेवीको डीएनए मिलेको छ ।

निर्मलाको ‘भजाइनल स्वाब’बाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमुनाबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मिलेकोे कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ । निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरे ।

अब आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले दाबी गरेको छ ।