काठमाण्डु – एचआईभी एड्स संक्रमित भएपछि जीवन नै सकिए जस्तै लागेको थियो । पहाड नै मै माथी बजारिए जस्तो भान भएको थियो । विगतलाई सम्झदै पूर्वी नवलपरासीको गैडाकोटकी निर्मला पौडेल सुनाउदै थिइन् । जीवनमा कहिल्यै कल्पना सम्म नगरीकी पौडेललाई जिन्दगिले नमिठो पाठ सिकायो ।
पूर्वी नवलपरासीको गैडाकोट ३ ढोडेनीमा २०३९ सालमा जन्मिएकी निर्मला पौडेल यतिबेला आफु जस्तै संक्रमितहरुलाई सहयोग गर्दै र एड्सबारे सचेतनाका कार्यक्रम संचालन गर्दै आएकी छन् । आफुले गर्दै नगरेको गल्तिको सजाय भोग्नुपरेको कथा अरुलाई पनि सुनाउँदै छन् ।
बालखमा बाबु गुमाएका कारण निर्मलाले चार कक्षाबाटै अध्ययनको बिट मार्नुपर्यो भने कलिलै उमेरमा नै विवाहसमेत भयो । निर्मलाको परिवारले उनको विवाह गैडाकोटकै २५ वर्षिय एकनाथ पौडेलसँग बालविवाह गरिदिए । बिवाहपछिको सुन्दर संसार कल्पना गरेकी निर्मलालाई बिवाह पछि बज्रपात आइलागेको थियो । विवाहपछि उनको जीवन तनावपूर्ण बन्यो । विवाह पछि निर्मलाले हरेक दिनजसो श्रीमानबाट हिंसा, कुटपिट र ज्यादती सहनुपर्यो ।
विवाहपछि रंगिन जीवनको कल्पना गरेकी उनको जीवन निकै सकसपूर्ण रह्यो । त्यतिमात्रै कहाँ हो र केही समयपछि श्रीमानको स्वास्थ्य अवस्था पनि बिग्रदै गयो । अस्पताल पुगेपछि मात्रै उनलाई श्रीमानको मानसिक अवस्थाका बारेमा थाहा पाइन् । निर्मलाले डाक्टरको परामर्श अनुसार श्रीमानको उपचारलाई निरन्तरता दिइन । औषधि उपचार तथा स्याहार सुसारमा कुनै कमी राखिनन् तर श्रीमानको अवस्था भने सुधार हुन सकेन ।
कहिलेकही केही सुधार पनि देखिन्थ्यो तर श्रीमानको अवस्था झनै विग्रदो भएपछि निर्मला थप तनावमा परिन् । श्रीमानको स्वास्थ्यमा अर्काे समस्या पनि थपिदै थियो, घरीघरी ज्वरो आउने, पखाला लाग्ने जस्ता समस्या निर्मलाकी श्रीमानलाई देखिन थाल्यो ।
श्रीमानको स्वास्थ्यमा सुधार ल्याउन दिनरात कसरत गरिरहेकी निर्मला श्रीमानको स्वास्थ्यमा सुधार आउला भन्दा एकपछि अर्काे गर्दै समस्या थपिदै गयो । निर्मलाले उपचारका लागि धेरै अस्पताल पुर्याइन् । आफ्ना गरगहना, पेवापात बेचेर पतिको उपचारमा खर्च गरिन् । तर, एकनाथलाई बीसको उन्नाइस भएन । बारम्बार उपचार गराउँदा पनि निको नभएपछि डाक्टरहरूको सल्लाहमा उनले पतिको एचआईभी परीक्षण गराइन्। परीक्षणमा एकनाथमा एचआईभी पोजेटिभ देखियो । रिपोर्ट सुनेर निर्मला छाँगाबाट खसिन् ।
उनलाई आफूमाथि आकाश नै खसे जस्तो भयो । त्यसपछि निर्मलालाई पनि एचआईभी परीक्षण गर्न डाक्टरले सुझाव दिए । भरतपुर अस्पतालमा गरिएको सुरुको परीक्षणमा निर्मलाको एचआइभी रिपोर्ट नेगेटिभ देखियो । त्यो रिपोर्टले निर्मललाई नयाँ जीवन पाएझै भयो तर त्यो खुशी निर्मलाको लागि क्षणिक बन्न पुग्यो । उनलाई फेरी परीक्षण गर्न २०५६ सालमा काठमाण्डुको टेकुस्थित अस्पताल लगियो । उनको ६ महिनाको गर्भ थियो । टेकु अस्पतालले उनको रगत परीक्षण गर्न भारत पठायो । परीक्षणबाट उनमा एचआईभी पोजेटिभ देखियो ।
एचआईभी भएको थाहा पाएपछि निर्मला कोमामा पुगे जस्तै भइन् । संसार अँध्यारो भयो । बेहोसीमै उनी काठमाण्डुबाट गैंडाकोट पुगिन् । धर्ती नै भासियो । बेसहारा अनुभव भयो । लगत्तै पतिको मृत्यु भयो । एकातिर कलिलैमा दाम्पत्यको बोझ बोकेकी निर्मलाले उमेर नै नपुगी गर्भावस्था, त्यसमाथि एचआईभी र पतिको निधन हुँदा भएभरका सबै दुःख र कष्ट एकसाथ निर्मलामाथि बज्रिए । निर्मलाले गर्भवतीले पाउनुपर्ने न्यूनतम आराम, स्वास्थ्य सेवा र सहयोग पाइनन्। गर्भवती हुँदा एक्लोपनको पीडा खेप्नुपरेकी निर्मलाले समाजको छि–छि दुरदुर खेप्नुपर्यो ।
परिवार र समाजबाट बिल्कुलै एक्ली भएकी निर्मलाले निराश हुँदा पटक–पटक आत्महत्याको सोचसमेत बनाइन् तर गर्भमा रहेको शिशुको हल्चलले उनलाई आत्महत्या गर्नबाट जोगायो, जीवन जीउन सिकायो भने समाजसँग लडेर अघि बढ्न उत्साह दिलायो । समाजले लाञ्छना लगाए पनि, छिछि र दुरदुर गरे पनि हुर्कंदै गरेका गर्भको मायाले उनले मृत्युको बाटो त्यागिन् र जीवनमार्गमै फर्किन्।
यसै क्रममा उनलाई एचआईभीको क्षेत्रमा काम गर्ने त्रिनेत्र नामको गैरसरकारी संस्थाले साथ दियो। त्यही संस्थाका कर्मचारी तथा स्वयंसेवकले उनलाई घर र माइती दुवैको अभाव खट्किन दिएनन्। गर्भवती उनको हेरचाह त्रिनेत्रले नै गरिदियो। डेलिभरी डेट पनि नजिकियो। उनलाई सुत्केरी व्यथाले च्याप्यो। भरतपुर अस्पतालमा भर्ना गरियो। डाक्टरले उनको अत्यन्त दुर्बल शारीरिक अवस्था देखेर अपरेसन गर्र्न सल्लाह दिए। निर्मलाले आफू एचआईभी संक्रमित भएको डाक्टरलाई बताइन्।
त्यसपछि डाक्टरहरूको व्यवहार नै फेरियो। केहीबेर अघिसम्म ममतापूर्ण व्यवहार गरिरहेका डाक्टरले तुरुन्तै उनलाई अस्पतालबाटै निकालिदिए। छुँदैमा, सँगै बस्दैमा एचआईभी सर्दैन भनेर फलाक्दै हिँड्ने डाक्टरहरूको असली, अमानवीय र निर्दयी स्वरूप उनले नजिकबाट देखिन्।
घर, टोल छिमेक, माइती सबैतिर जाने बाटोमा उनका अगाडि तगारा लगाइएका थिए। घरमा बस्न नदिएर उनले गोठमा बस्नु पथ्र्यो। त्रिनेत्रका स्वयंसेवकबाहेक अन्य कसैले पनि उनीसँग असल र मानवीय व्यवहार गर्दैनथे। अस्पतालले निकालिदिएको तेस्रो दिन तिनै स्वयंसेवकको सहयोगमा उनले घरमै स्वस्थ सन्तान जन्म दिइन्।
उनको छोराको जन्म भयो छोराको पनि एचआइभी परिक्षणमा रिपोर्ट नेगेटिभ थियो ।उनले छोराको नाम गणेश राखेकी छन् । गर्भवती देखि सुत्केरी हुँदा सम्म ,सामान्य व्यक्तिदेखि डाक्टरसम्मको व्यवहारले समाज कता छ भन्ने झल्को दिएको थियो । एचआइभी संक्रमितप्रति हेर्ने समाजको दृष्टिकोण बदल्न अहिले निर्मला एचआइभीबारे सचेतना कार्यक्रम गर्दै हिड्छिन् । यता छोरा गणेशपनि आमालाई निकै सहयोग गर्छन ।
वि.सं. २०५६ सालमा त्रिनेत्र नेपालबाट शुरु भएको निर्मलाको यात्रा माईती नेपालमा परामर्शदाता, सक्रिय समुह चितवनको सस्थापक अध्यक्ष, राष्ट्रिय एचआईभी एड्स महासंघ काठमाण्डुको केन्द्रिय उपाध्यक्ष, सिसिएम बोर्ड सदस्य हुदै अहिले लुम्बिनि प्लसमा पुगेको छ । उनले एचआईभी संक्रमित हुनुलाई जीवनको अन्त्य नभई सिर्जनशिल र चुनौतीपूर्ण जीवनको सुरुवात मानेकी छन् ।
गाउँ–गाउँमा पुगेर लुकेर बसेका संक्रमितहरुलाई सहयोग गर्ने, उत्प्रेरणा दिने, अन्य व्यक्तिलाई सम्झाउने जस्ता काममा उहाँको दिनचर्या बित्ने गर्दछ । उनलाई नवलपरासीमा एचआईभी संक्रमितको एक बलियो साहारा र भरोसाको रुपमा लिईन्छ । कुनै बेला आफै बेसहारा भएकी निर्मला अहिले सयौ संक्रमितको एकमात्र साहारा बनेकी छन् ।
उनि अहिले एचआईभी संक्रमीत बालबालिकाहरुलाई आवास सहितको शिक्षाका लागी सहयोग जुटाउने अभियानमा छन् ।एचआइभीसम्बन्धी जनचेतना जगाउन र नियन्त्रणमा उनले पुर्याएको योगदानको कदरस्वरूप २०५९ मा थाइल्यान्डमा एचआइभी संक्रमितको सञ्जालले निर्मलालाई सम्मान गर्यो। वि.सं. २०६०, २०६१, २०६६, २०६८ र २०६९ सालमा राष्ट्रिय स्तरका विभिन्न संघ संस्थाले उनलाई सम्मान गरिसकेका छन्।
उनलाई २०७० सालमा ‘युवा नेतृत्व’ सम्मान प्रदान गरिएको थियो। पछिल्लो समय उनको कामलाई सम्मान गर्नेहरू प्रसस्त भेटिन थालेका छन्। जिल्ला विकास समिति नवलपरासीले असल काम गरेबापत २०७१ सालमा सम्मान गरेको थियो। वि.सं. २०७३ सालमा युवा तथा खेलकुद मन्त्रालयले युवा प्रतिभा सम्मानले उनलाई सम्मानित ग¥यो। पहिला हेला र दुरदुर गर्नेहरूले पनि बोलाएर अहिले गाउँठाउँमा सम्मान गर्ने गरेको उनले सुनाइन् ।




प्रतिक्रिया