काठमाण्डु- आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि कुल ६९ जनाको उमेदवारी परेको छ । सोमबार भएको उमेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उमेदवारी परेको हो ।
निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उमेदवारी परेको छ ।
जसमा बारा-२ दलका १२ जना र स्वतन्त्र २४ जना गरी ३६ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बारामा नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उमेदवारी परेको छ ।
चितवन-२ मा दलका १२ र १२ जना स्वतन्त्र गरी २४ जनाको उमेदवारी परेको छ । नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उमेदवारी परेको छ ।
तनहुँ-१ मा दलका ९ जनाको उमेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहितको उमेदवारी परेको छ । तनहुँमा स्वतन्त्र उमेदवारी परेको छैन ।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ १, रामसहाय प्रसाद यादव उपराष्ट्रपति चुनिएपछि खाली भएको बारा २ र नागरिकता प्रकरणमा रवि लामिछानेले पद गुमाएपछि प्रतिनिधिसभा सदस्यविहीन भएको चितवन २ मा उप निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार दुई दिन दावी विरोधका लागि समय छुट्याइएको छ भने अन्तिम नामावली प्रकाशन २३ गते गरिनेछ । उपनिर्वाचनमा नेकपा माओवादी रनेकपा एकीकृत समाजवादीले भने गठबनधनका उम्मेदवारहरुलाई नै सर्मथन गरेका छन् ।




प्रतिक्रिया