निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी, यी नेता सहभागी


काठमाण्डु – निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक जारी छ । स्थानीय चुनावबारे राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले बोलाएको बैठक बसिरहेको छ । आयोगका अनुसार आजको जारी बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको छ ।

बैठकमा नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल, निरज आचार्य र डा. भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवाल, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी सहभागि भएका छन् । यता एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलका प्रतिनिधि भने आयोग पुगेका छैनन्। केही दलका प्रतिनिधिले भने भर्चुअल रुपमा सहभागी हुने जानकारी गराएको आयोगको भनाइ छ ।

आयोगले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ । अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ । त्यस्तै स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement