प्रचण्ड–नेपालको आग्रह निर्वाचन आयोगद्धारा अस्वीकार, भन्योः सर्वोच्चको आदेश भएमात्रै चुनावी प्रक्रिया रोकिन्छ

प्रचण्ड–नेपालको आग्रह निर्वाचन आयोगद्धारा अस्वीकार, भन्योः सर्वोच्चको आदेश भएमात्रै चुनावी प्रक्रिया रोकिन्छ


काठमाण्डु – निर्वाचन आयोगले नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले चुनावी प्रक्रिया रोक्न आयोगलाई गरेको आग्रह अस्वीकार गरेको छ ।

सोमबार निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका थिए ।

निर्वाचन आयोगले भने निर्वाचनका कार्यक्रम रोक्न सर्वोच्चको आदेश चाहिने भएकाले तत्काल नरोकिने बताएको नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

आयोगले सरकारले निर्वाचन घोषणा गरेपछि चुनावी कार्यक्रम अघि बढाउने दायित्व आफुहरुको भएको भन्दै निर्वाचनका कार्यक्रम सर्वोच्चले आदेश गरेपछि मात्रै रोक्न सम्भव रहेको बताएको पोखरेलले जानकारी दिए ।

आयोगमा प्रचण्ड–नेपाल समूहले दुईवटा पत्र मार्फत निर्वाचनका कार्यक्रम रोक्न र पार्टीको कागजातको नक्कल माग गरेका थिए । निर्वाचन आयोगले भने नेकपा नाममै विवादित भएकाले आफूसँग भएका कागजातको नक्कल उपलब्ध गराउने र बाँकी सर्वोच्चबाट लिन जवाफ दिएको आयोगका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेर बैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वचन आयोगले तयारी अगाडि बढाएको हो ।