जसपा विवाद : निर्वाचन आयोगमा इजलास बस्दै, कसले पाउला पार्टी आधिकारिकता ?

जसपा विवाद : निर्वाचन आयोगमा इजलास बस्दै, कसले पाउला पार्टी आधिकारिकता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवादमा निर्वाचन आयोगको इजलासमा आजदेखि सुनुवाई हुँदैछ ।यसअघि निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् ।

दुवै पक्षसंग सहमतिको प्रयास भएपनि सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न इजलासमा सुनुवाइ गर्न लागेको हो । अबको केहीबेरमा सुनुवाइ सुरु हुने जसपा यादव पक्षका नेता प्रदिप यादवले जानकारी दिए । जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो ।

जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् । ऐनका अनुसार दुवै पक्षले आफ्नो आधिकारिकता दावी गर्न कानून व्यवसायीलाई इजलासमा बहस गराउन सक्नेछन् । प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा रहेको इजलासमा आजबाट सुरु हुने सुनुवाइ सकिएपछि आधिकारिकताको टुंगो लाग्ने छ । जसपाको आधिकारिकता नपाउने पक्षलाई आयोगले नयाँ दल दर्ताका लागि समय दिनेछ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् । यादव नेतृत्वको समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उभिने निर्णय गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । ठाकुर पक्षले आफ्ना माग पूरा गर्न ओली सकरात्मक रहेको भन्दै ओलीको नेतृत्वमा सरकार बनाउन समर्थन दिएको थियो । दुवै पक्षले आफूसँग बहुमत रहेको दावी गर्दै आएका छन् ।