काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत स्थानीय तहका रिक्त पदका लागि आज (बुधबार) उम्मेदवारी दर्ता भइरहेको छ ।
बिहान १० बजेबाट सम्बन्धित स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता खुला गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दर्ता दिउँसो १ बजेसम्म जारी रहनेछ ।
सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष पद रिक्त छन् ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि खाली छ भने ३४ जिल्लाका ४० स्थानीय तहका विभिन्न वडाका गरी ४३ अध्यक्ष पद पनि रिक्त छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानसहित उल्लिखित स्थानीय तहका पदपूर्तिका लागि मंसिर १४ गते उपनिर्वाचन हुने भएको हो ।




प्रतिक्रिया