काठमाण्डु – चौधरी ग्रूपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ ।
चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् ।
हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहिद भएका परिवारका १–१ जना सदस्यलाई रोजगारी उपलब्ध गराउने उनले घोषणा गरेका हुन् ।
एक्समा उनले लेखेका छन्, ‘आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’
आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भए पनि चौधरी ग्रूप पुनर्निर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढेको उनले बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘यो पीडादायी घडीमा पनि हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं र आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर भविष्य निर्माण गर्नेछौं ।’
सहिद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रूपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।




प्रतिक्रिया