कलाकार निशा घिमिरेको अन्त्येष्टि, घटनाको कूटनीतिक तवरबाट छानविन गर्न माग 

कलाकार निशा घिमिरेको अन्त्येष्टि, घटनाको कूटनीतिक तवरबाट छानविन गर्न माग 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कलाकार निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधवार साँझ निधन भएकी घिमिरेको पार्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले आज दागबत्ती दिएका हुन् ।

अन्त्येष्टि गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा १ घण्टा राखिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी, गोपाल ढकाल ‘छन्दे’, जीवन थापा, उद्धव भट्टराईलगायत उनलाई श्रद्धाञ्जली दिन पुगेका थिए ।

चलचित्र कलाकार संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको कार्यक्रममा कलाकर्मीको भने न्यून उपस्थिति थियो । श्रद्धाञ्जली कार्यक्रममा कलाकारको न्यून उपस्थिति रहेको भन्दै सहभागीले गुनासो गरेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिएका छन् ।  श्रद्धाञ्जली दिन पुगेका अधिकांशले देहरादूनमा भएको कलाकार निशाको दुर्घटनाको कुटनीतिक तवरबाट छानविन हुनुपर्ने माग राखेका छन् । 

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार घिमिरेको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । अस्पतालको सीसीयूमा राखी लगातार उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । तर लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’लगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोलगायत करिब दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् ।