काठमाण्डु- प्रतिपक्षी दलहरुले भने सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै कुरा समेटिएपनि अहिले मुलुकमा भएको समस्याको समाधान गर्ने कुनै ठोस प्रस्ताव र कार्यक्रम नभएको बताएका छन् ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले ज्यान भएपनि जीवन नभएको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै भट्टराईले यसको कुनै सपना, जोश र जाँगर नभएको टिप्प्णी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने बताएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ठोस कुरा केहीपनि आएको टिप्पणी गरे।
यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दन्त्य कथाको संज्ञा दिएका छन्। सुवालले नीति कार्यक्रम ठोस रुपमा नआएकाले अमुर्त भएको टिप्पणी गरेका थिए ।
यता सत्तापक्षाका नेताहरुले भने सकारात्मकतामा आशा देखाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहनुभएका कांग्रेस नेता मोहन बहादुर बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको दाबी गरेका छन्।
उनले यो नीति कार्यक्रमले आगामी बजेटलाई सन्देश दिएको र सही ढंगल कार्यान्वयन भए आशा गर्ने ठाउँ प्रसस्त रहेको बताए। यस्तै कांग्रेसकै सांसद प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय छ । तर परम्परागत ढंगकै देखियो ।’ उनले नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता नरहेको बताए ।
संसद्मा छलफलका क्रममा नीति तथा कार्यक्रम कार्यान्वयनको आधार स्पष्ट पार्दै कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने बताए ।




प्रतिक्रिया