दशौँ पटक बिहारको मुख्यमन्त्री बन्दै नीतीश कुमार

दशौँ पटक बिहारको मुख्यमन्त्री बन्दै नीतीश कुमार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको बिहार राज्यको मुख्यमन्त्री पदमा जनता दल युनाइटेड (जेडीयू)का नेता ७४ वर्षीय नीतीश कुमारले दशौँ पटक मुख्यमन्त्री बन्दैछन् ।

उनले बिहीबार मुख्यमन्त्री दिको शपथग्रहण लिने भएका छन् । बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकमा नेता निर्वाचित भएपछि नीतीश कुमारले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसँग भेट गरेका थिए ।

एनडीएका अन्य नेताहरूसँगै नीतीश कुमारले बिहारमा सरकार बनाउने दाबी पेस गरेका थिए । बिहारमा नयाँ एनडीए सरकारको शपथग्रहण समारोह पटनाको गान्धी मैदानमा हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस कार्यक्रममा सहभागिता जनाउनेछन् । गृहमन्त्री अमित शाह पनि समारोहमा उपस्थित हुनेछन् ।

सन् २००५ देखि अहिलेसम्म नितिश कुमार मुख्यमन्त्री बन्दै आएका छन्।

हालै सम्पन्न विधानसभा चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरेपछि नितिश कुमारले करिब दुई दशकदेखि चलाउँदै आएको नेतृत्वलाई निरन्तरता दिन लागेका हुन्।

नितिश कुमार सन् २००० मा पहिलो पटक मुख्यमन्त्री बनेका थिए। त्यति बेला उनको सरकार बहुमत जुटाउन नसक्दा सात दिनमै ढलेको थियो।

दोस्रो र तेस्रो पटक उनले २००५ र २०१० को विधानसभा चुनावमा एनडिएको बहुमत आएपछि मुख्यमन्त्री बनेका थिए। तर २०१४ मा उनले भाजपा र राष्ट्रिय जनता दलसँग गठबन्धन नगरी चुनाव लडेपछि खराब नतिजा ल्याएका थिए। त्यसपछि उनले राजीनामा दिए र पार्टीका नेता जितनराम माझीलाई मुख्यमन्त्री बनाए।

सन् २०१५ को चुनावअघि उनी फेरि मुख्यमन्त्री बने। त्यो उनको चौथो कार्यकाल थियो। सन् २०१५ र २०२० को चुनावपछि पनि उनले मुख्यमन्त्रीको सपथ लिए । एकपटक महागठबन्धन (जेडियू–राष्ट्रिय जनता दल–कांग्रेस) को नेता बनेर र अर्को पटक एनडिएको नेता बनेर।

यसबीच २०१७ मा महागठबन्धन छाडेर एनडिएमा फर्कँदा, २०२२ मा एनडिए छाडेर राष्ट्रिय जनता दलसँग मिल्दा र २०२४ मा राष्ट्रिय जनता दल छाडेर फेरि एनडिएमा जाँदा उनले थप तीनचोटि सपथ थिए।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार नितिशले अहिलेसम्म ७०२३ दिन अर्थात् करिब १९ वर्ष मुख्यमन्त्रीका रूपमा बिताइसकेका छन्। देशभरका सबै मुख्यमन्त्रीको सूचीमा लामो समय बिताउनेमा उनी आठौं स्थानमा पर्छन्।

उनले यस पटक पाँच वर्षे कार्यकाल पूरा गरे उनी भारतको इतिहासमा तेस्रो सबभन्दा लामो कार्यकाल बिताएका मुख्यमन्त्री बन्ने छन्।

उनीभन्दा अगाडि सिक्किमका पवनकुमार चाम्लिङ र ओडिशाका नवीन पटनायक लामो अवधि मुख्यमन्त्री बनेका थिए।

नितिशले अर्को एउटा अनौठो रेकर्ड राखेका छन्। मुख्यमन्त्री रहँदा उनले १४ जना राज्यपालसँग काम गरिसकेका छन्। यसमा उनी भारतका मुख्यमन्त्रीहरूमा तेस्रो स्थानमा परेका छन्। यो सूचीमा मिजोरमका लाल थनहावला र हिमाञ्चल प्रदेशका वीरभद्र सिंह क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।