काठमाण्डु – भारतको बिहारमा लालू यादव र नीतीश कुमार परस्पर विरोधी नेता मानिन्छन् । दुवै नेताले बिहारको राजकीय सत्ता सम्हालिसके पनि दुवै नेताबीच पटक–पटक टकराव देखिन्छ ।
गत विधानसभा चुनावमा मुख्यमन्त्री नीतीश कुमार भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन गरेर चुनावमा होमिएका थिए तर पछि लालू यादव पुत्र तेजस्वी यादवसँग मिलेर सरकार बनाएका थिए ।
हाल पनि बिहारको सरकारमा नीतीश र तेजस्वीको मिलिजुली सरकार छ । यस्तै बेला मुख्यमन्त्री नीतीशले आफ्नो राजनीतिक उत्तराधिकारी तेजस्वी यादव हुने बयान दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चुनावी प्रतिस्पर्धाबाट नेता मान्ने लोकतान्त्रिक प्रणालीमा सोझै उत्तराधिकारी घोषणा गर्न त सकिँदैन, अन्तिममा जनअनुमोदित हुनैपर्छ । तर मुख्यमन्त्री नीतीशको अभिव्यक्तिले उनी बिहारको राज्यसत्ता सुम्पिन तयार रहेको देखिन्छ ।
लामो समय बिहारको सत्ता सम्हालेका नीतीश लालू पुत्रलाई उत्तराधिकारी बनाउने मनस्थितिमा किन पुगे ? भारतीय सञ्चारमाध्यमले अनेक विश्लेषण गरिरहेका छन् । विभिन्न भ्रष्टाचार मुद्दामा फसेपछि लालू यादवले छोरा तेजस्वीलाई पार्टीको उत्तराधिकारी बनाएका थिए ।
बिहारको राजनीतिमा नीतीश नेतृत्वको दल जेडीयूको लोकप्रियता घट्दै गएको बताइन्छ । सन् २०१० मा ११५ सिट जितेको जेडीयू २०१५ मा ७१ सिटमा सीमित भएको थियो । २०२० मा पुग्दा जेडीयू ४४ सिटमा सीमित भएको छ । पछिल्लो पटक भएका ३ क्षेत्रका उपनिर्वाचनमा जेडीयूले १ सिट पनि जित्न सकेको छैन । उपनिर्वाचनमा २ सिट भाजपा र १ सिट आरजेडीले जितेको छ । यसरी हेर्दा नीतीश कुमारले बिहारमा राजनीतिक भविष्य नदेखेपछि सुरक्षित अवतरण खोजिरहेको भारतीय सञ्चारमाध्यमको टिप्पणी छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध भारतीय कांग्रेस समेत विपक्षी दलहरू एकजुट भएका छन्, जसमा नीतीश कुमारले प्रमुख भूमिका पाउने सम्भावना रहेकाले तेजस्वीलाई बिहारको सत्ता सुम्पिएर लालू यादव समेतको समर्थनमा नीतीश केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्न चाहिरहेका बताइन्छ ।
लालू यादवले छोरा तेजस्वीलाई उत्तराधिकारी बनाए पनि नीतीश कुमारको परिवारमा राजनीतिक उत्तराधिकारी नभएका कारण अन्य परिवारकै नेतालाई उत्तराधिकारी बनाउनुपर्ने बाध्यता उनीसामु देखिन्छ ।




प्रतिक्रिया