काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले हप्तामा २ दिन (शनिबार र आईतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि अस्पताललाई आफ्नो क्षमताअनुसार आईतबार सेवा दिन भनिएकोप्रति संघ असन्तुष्ट देखिएको हो ।
‘नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकद्वारा हप्ताको २ दिन शनिबार र आईतबार सरकारी बिदा दिने निर्णय गरिएको भए पनि अस्पतालहरूले आईतबारको हकमा आफ्नो कार्यभार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालमा जनशक्ति नथपिएकाले तत्कालका लागि आईतबार ओपीडी सेवा उपलब्ध गराउन सकिँदैन,’ चिकित्सक संघले उल्लेख गरेको छ ।
अस्पतालमा आवश्यक जनशक्ति नथपिएको अवस्थामा आईतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ । हप्तामा २ दिन बिदा दिने व्यवस्था भए पनि सट्टा बिदा उपलब्ध गराउने कुरा व्यवहारमा लागू नभएको संघको दाबी छ ।
‘विभिन्न स्वास्थ्य संस्थामा फरक–फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरूपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न अस्पतालमा फरक–फरक दिन बिदा दिँदा बिरामी अन्योलमा पर्ने र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने उल्लेख गरेका छन् ।





प्रतिक्रिया