काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा माउन्टेरिङको सम्भावना नहुने बताएका छन् ।
मन्त्री पाण्डेले अध्यक्ष फुर्वा गेल्जे शेर्पा सहितको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै उनले भने, ‘एनएमए नहुने हो भने नेपालमा माउन्टेरिङ सम्भावना छैन । दीगो रूपमा माउन्टेरिङको रूपमा काम गर्नका लागि तपाईंहरूको रचनात्मक सहयोग चाहिन्छ ।’
मन्त्री पाण्डेले एनएमएमा एकपटक मात्र नेतृत्व लिने व्यवस्था सकारात्मक भएको भन्दै अधुरा परियोजनाहरू पूरा गर्न र पर्वतारोहणसँग सम्बन्धित क्षेत्रमा अझ प्रभावकारी काम गर्न आग्रह गरे । पोखरामा रहेको पर्वतारोहण संग्रहालयलाई अत्याधुनिक र विदेशी पर्यटकसमेतको चासोको केन्द्र भएको उल्लेख गर्दै उनले यसको थप उन्नयनमा जोड दिए ।
नेपालका हिमालहरूमा आरोहणलाई सहज बनाउन सरकारले पछिल्लोपटक ९७ वटा हिमालमा २ वर्षका लागि रोयल्टी छुटको व्यवस्था गरेको र नयाँ ५७ हिमाल आरोहणका लागि खोलिएको जानकारी दिए । निषेधित क्षेत्र हटाउने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक बाटो बनाउन छलफल भइरहेको समेत मन्त्री पाण्डेले जानकारी दिए ।
‘पर्वतारोहण नेपालकै ठूलो सम्भावना भएको क्षेत्र हो । जोखिम न्युनीकरण गर्दै यसलाई दीगो रूपमा अघि बढाउन संघको रचनात्मक सहकार्य आवश्यक छ,’ मन्त्री पाण्डेले भने ।
उनले पर्यटन नीति र ऐनमार्फत धेरै सुधार हुने विश्वास व्यक्त गर्दै संघलाई सिर्जनात्मक र प्रभावकारी नेतृत्व दिन शुभकामना समेत दिए । नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले नयाँ कार्यसमिति पर्यटन क्षेत्र सुधार र पर्वतारोहण प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा ‘दावा टशी शेर्पाद्वारा लिखित शेर्पा’ नामक पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तकमा सन् २०१४ मा १६ जना पर्वतारोहणकर्ताले ज्यान गुमाएको घटनाको उल्लेख गरिएको छ, जसमा लेखक स्वयं मात्र बाँच्न सफल भएका थिए ।




प्रतिक्रिया