काठमाण्डु – नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति, आयात तथा बिक्री वितरण पूर्णरूपमा सहज र नियमित रहेको स्पष्ट पारेको छ ।
निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ग्यास अभावको हल्लामा नपर्न आमउपभोक्तालाई आग्रह गरेको छ ।
आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको माग बढ्न सक्ने अनुमानसहित फेब्रुअरी महिनाको एलोकेसनमा २ हजार मेट्रिक टन थप गरिएको निगमले जनाएको छ । हाल दैनिक औसत करीब ११० बुलेट एलपी ग्यास नियमित रूपमा आयात भइरहेको छ ।
काठमाण्डु उपत्यकामा बजारीकरण गर्ने करीब २३ वटा ग्यास उद्योगमध्ये केही उद्योगका पछिल्ला बिक्री वितरणलाई हेर्दा दैनिक करीब ४० हजार सिलिन्डर बजारमा उपलब्ध गराइरहेको निगमले जानकारी दिएको छ । माग उच्च देखिएको अवस्थाका बाबजुद पनि समग्र आपूर्ति प्रणाली नियन्त्रणमै रहेको निगमको दाबी छ ।
तर उपत्यकाका केही ग्यास उद्योगका ब्रान्डहरू नेपाल ग्यास, एभरेष्ट ग्यास, साईबाबा ग्यास तथा श्री कृष्ण ग्यासका सिलिन्डरहरू डिलरमार्फत नपुगेको गुनासो आएपछि निगमले वैकल्पिक व्यवस्था समेत गरेको जनाएको छ । ती ब्रान्डका उपभोक्ताले सम्बन्धित उद्योग वा बिक्री केन्द्रमा सिधै सम्पर्क गरी ग्यास खरिद गर्न सक्ने जानकारी पनि विज्ञप्तिमा उल्लेख छ ।
निगमले सार्वजनिक गरेको विवरणअनुसार नेपाल ग्यास (बालाजु), एभरेष्ट ग्यास (सिफल), साईबाबा ग्यास (कलंकी) र श्री कृष्ण ग्यास (कलंकी) का बिक्री केन्द्र तथा सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । ग्यास नपाएको अवस्थामा निगमको हटलाइन नम्बर ०१–४२७१३२० मा कार्यालय समयभित्र सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
नेपाल आयल निगमले एलपी ग्यासको आयात तथा वितरण नियमित रूपमा भइरहेको हुँदा उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।





प्रतिक्रिया