आयल निगमको घाटा बढ्यो, १५ दिनमै करिब ५ अर्ब घाटा

आयल निगमको घाटा बढ्यो, १५ दिनमै करिब ५ अर्ब घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको देखिएको छ ।

निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पश्चिम एसियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुँदा र निरन्तर मूल्यवृद्धि भएपछि यस्तो अवस्था आएको हो ।

जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकाशिँदा इन्डियन आयल कर्पोरेसनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको छ । तर स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसक्दा निगमले ठूलो घाटा व्यहोर्नुपरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुँदै गर्दा यसको असर आउँदो दिनमा निगमको घाटा अझ बढ्न सक्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए । उनका अनुसार निगमको मूल्य स्थिरीकरण कोषमा हाल १९ अर्ब रुपैयाँ सञ्चित छ । मूल्यवृद्धिको घाटाको पूर्ति यही कोषबाट गर्दैआएको निगमले अब धेरै दिन धान्ने स्थिति देखिँदैन ।

निगमका अनुसार हालको मूल्य संरचनामा पेट्रोल, डिजेल र एलपी ग्यासमा अझै घाटा कायम छ । यद्यपि उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी इन्धनको खुद्रा मूल्य भने यथावत् राखिएको छ ।

यसैबिच निगमले हवाई इन्धनको मूल्य भने समायोजन गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँले वृद्धि गर्दै २५१ रुपैयाँ पुर्‍याएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाण्डुका लागि प्रतिकिलोलिटर ८१९ अमेरिकी डलरले बढाएर १ हजार ७८५ डलर पुर्‍याइएको छ भने पोखरा र भैरहवाका लागि पनि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि जारी रहे आगामी दिनमा थप आर्थिक दबाब पर्ने चेतावनी पनि निगमले दिएको छ ।

निगमले इन्धन आपूर्ति प्रणाली भने सहज रहेको र देशभर पर्याप्त मौज्दात रहेको जानकारी दिँदै उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ ।

भारत सरकारले समेत व्यावसायिक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । हर्मुज नाका बन्द हुनुका साथै खाडी क्षेत्रका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ, जसको असर भारतसहित विश्वभर परेको छ ।

दिल्लीमा १९ किलो क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुले बढेर २ हजार ७८ भारु पुगेको छ । ५ केजी एफटीएल सिलिन्डर ५१ भारुले महँगिएर ५४९ भारु कायम भएको छ । कोलकातामा पनि १९ केजी सिलिन्डरको मूल्य २१८ भारुले वृद्धि भएको छ । तर घरेलु प्रयोजनका लागि प्रयोग हुने १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् ९१३ भारु कायम राखिएको छ ।

यसैबिच, हवाई इन्धन (एटीएफ) को मूल्य पनि वृद्धि गरिएको छ । दिल्लीमा यसको मूल्य २ लाख ७ हजार ३४१ भारु प्रतिकिलो लिटर पुगेको छ भने अन्य महानगरहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने एटीएफको मूल्य पनि दोब्बरभन्दा बढीले बढेको छ । सरकारले भने देशभर इन्धन आपूर्ति सहज रहेको र पर्याप्त भण्डारण उपलब्ध रहेको जनाएको छ ।