तराईमा अस्वभाविक गतिविधि : किन बढ्दैछ छिमेकविरुद्व प्रदर्शन ?


काठमाडौं – भारतको पुलवा जिल्लामा फेब्रुअरी १४ तारिखका दिन भएको आत्मघाती बम आक्रमणमा ४० भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि भारत–पाकिस्तान तनाव उत्पन्न भयो ।

विवाद बढ्दै जाँदा सीमा क्षेत्रमा हवाई आक्रमणका घटना समेत सार्वजनिक भए । तर त्यसको अवसर नेपालसम्म आइपुग्यो ।

अस्वभाविक चाहिँ के भयो भने भारत–पाकिस्तान विवाद चलिरहेका बेला तराईमा भारतको समर्थन र पाकिस्तानको विरोधमा जुलुस प्रदर्शन भए ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता कार्यकता, विद्यार्थी र युवाको संलग्नतामा पाकिस्तानविरुद्व प्रदर्शन गरिए । नाराबाजी गर्दै भारतलाई साथ रहेको आशय व्यक्त गरिए । स्पष्ट सरोकार र आवश्यकता नभएको विषयमा छिमेकी देशविरुद्व प्रदर्शन हुनुलाई कूटनीतिक रुपमा चासोका साथ हेर्ने गरिएको छ ।

पाकिस्तानपछि चीन विरोधी नारा
छिमेकी देशविरुद्व नाराबाजी र प्रदर्शन हुने क्रम तराईमा अझैँ रोकिएको छैन । चालु हप्तामा तराईमा दुईपटक चीनविरुद्व प्रदर्शन भएको छ । चैत २४ गते २ नम्बर प्रदर्शनको अस्थायी राजधानी जनकपुरधाममा ‘चिनियाँ गो ब्याक’ नारा लागेको घटना नसेलाउँदै सप्तरीमा चीनविरुद्व अर्को प्रदर्शन भएको छ ।

चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजनाका लागि गाई ल्याउन लागेको विरोधमा सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ । छिमेक विरोधी गतिविधिका पछाडि कसको हात छ भनेर स्पष्ट भइसकेको छैन । चिनियाँ परियोजना सञ्चालन नगर्न दबाब दिनका लागि प्रदर्शन गरेको युवा नेता किशोर यादवले बताए ।

प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याए चरणबद्व आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । राजविराजको शिव मन्दिरबाट निकालिएको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगेर कोण सभाको आयोजना भएको थियो ।

कोणसभामा बोल्दै स्थानीय किसानका नेता विशेश्वर दास, युवा नेता दिनेशकुमार शर्मा, सोनु दास, विद्यार्थी नेता महेशकुमार यादव, नागरिक समाजका अगुवा इन्द्रदेव यादव, श्रवणकुमार दास, नरेशकुमार यादव लगायतले गाई ल्याउने कार्य रोक्न केन्द्र र प्रदेश सरकारसँग आग्रह गर्दै कार्य नरोकिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

स्थानीय प्रशासन मुकदर्शक !
अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुग्ने गरी नेपाली भूमिमा छिमेकीविरुद्व प्रदर्शन हुनुलाई स्वभाविक मानिँदैन । स्थानीय प्रशासनले यस्ता गतिविधि हुन नदिने र भइहाले तत्काल रोक्नुपर्ने हो । तर स्थानीय प्रशासन आफ्नो भूमिका निर्वाहमा चुक्दै गएको देखिएको छ ।

भारतीय सीमा क्षेत्र नजिक रहेको नेपाली भूमिमा चीन र पाकिस्तानविरुद्व नाराबाजी र प्रदर्शन हुनुले अन्तर्राष्ट्रिय कूटनीतिलाई खल्बल्याउन सक्ने तथा छिमेकी देशले नेपाल सरकारसँग जवाफ माग्न सक्ने खतरा रहन्छ । कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुरामा सरकार सचेत रहनुपर्छ ।

आफूलाई राष्ट्रवादी देखाउन यसअघि समेत नेपालमा भारतविरुद्व प्रदर्शन हुने गरेका थिए । राजनीतिमा स्थापित भइराख्न भारत विरोधी भावना विकास गर्ने राजनीति नेपालमा पहिल्यैदेखि रहँदै आएको छ ।

तर पछिल्लो समय पाकिस्तान र चीनविरुद्ध खुलेआमरुपमा प्रदर्शन भइरहेका छन् । तराईमा चीन र पाकिस्तान विरोधी भावना जागृत गरेर कसले राजनीति गर्न खोज्दैछ ? भविष्यमा खुल्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement