एजेन्सी – उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको ब्लाष्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भएको दाबी गरेको छ ।
प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग–उनले अवलोकन गरेका थिए ।
त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बताएका थिए ।अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो ।
सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।
ठूलो आकारका कालो– सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । विश्लेषकहरूले यसअघि उत्तर कोरिया नदेखिएका अस्त्रहरू देखिएको बताएका छन् ।
‘विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ’, कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ।




प्रतिक्रिया