बसन्त चौधरीको लगानी रहेको नर्भिक अस्पतालको अटेरी- दियो टहरा भत्काउन नसकिने जवाफ


काठमाण्डु- नर्भिक अस्पतालले सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन अटरी गरेको छ । नर्भिक अस्पतालले काठमाण्डु महानगरले दिएको निर्देशनबमोजिम तत्कालै घर टहरा हटाउन नसकिने भन्दै अटेरी गरेको हो ।

थापाथलिस्थित नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएको छ । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको थाहा पाउने वित्तिकै एक्छनमा उत्रिएका छन् ।

सोमबार काठमाण्डु महानगरले सुचना जारी गर्दै नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आना जग्गामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । तर यता नर्भिक अस्पतालले भने काठमाण्डु महानगरको निर्देशन पालना गर्न नसकिने बताएको छ ।

नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले काठमाण्डु महानगरको निर्देशनबमोजिम तत्कालै घर टहरा हटाउन नसकिने बताएका हुन् । २०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भएका अनधिकृत रुपमा संरचना निर्माण नगरिको भन्दै अध्यक्ष सिंह बचाउमा लागेका छन् ।

उनले उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेकाले तत्कालै काठमाण्डु महानगरको निर्देशन पालना गर्न नसकिने दावी गरे ।  मेयर शाहले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

तर, नर्भिक अस्तालले भने काठमाण्डु महानगरको निर्देशन पालना नगर्ने दावी गरेको छ । सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनी रुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो ।

व्यवसायी बसन्त चौधरीको लगानी रहेको नर्भिक अस्पतालले अनधिकृत रुपमा जग्गा हत्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भूमि,व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र काटेको थियो। तर पनि चौधरी भने त्यसमा शक्तिको आडमा २० वर्षदेखि अनधिकृत रुपमा डेढ रोपनी जग्गामा रजाई गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement