काठमाण्डु- तनावले मानिसको अनुहारमा रगतको प्रवाहलाई असर गर्छ ।
नाकको तापक्रम घट्दा मानिसको तनावको स्तर थाहा पाउन सकिने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।
यसले व्यक्ति तनावपछि कति छिटो सामान्य अवस्थामा फर्किन्छ भन्ने पनि देखाउँछ । अनुसन्धानकर्ताहरूको भनाइमा थर्मल इमेजिङ प्रविधिबाट तनाव सम्बन्धी अनुसन्धानमा ‘गेम चेन्जर’ सावित हुन सक्छ ।
अनुसन्धानकर्ताहरूले ‘स्ट्रेस टेस्ट’ डिजाइन गरेका छन् जसले मानिसलाई असहज बनाइदिओस् ।
डिजाइन गरिएको ‘स्ट्रेस टेस्ट’को कुर्सीमा मानिसलाई बसालेर हेडफोनमा ‘ह्वाइट न्वाइज’ सुनाइन्छ । ‘ह्वाइट न्वाइज’ भनेको विभिन्न आवृत्तिका ध्वनिहरू मिसाएर बनेको एक किसिमको आवाज हो । यस्तो आवाज प्रायः निद्रा लगाउन, ध्यान केन्द्रित गर्न वा बाहिरी आवाजबाट ध्यान विचलित हुन नदिन प्रयोग गरिन्छ ।
तनाव कसरी पत्ता लाग्छ?
ससेक्सका अनुसन्धानकर्ताहरूले ‘स्ट्रेस टेस्ट’ सय जना स्वयंसेवकमा गरेका छन् । सबैमा नाकको तापक्रम १ देखि ३ डिग्रीसम्म घटेको पाइयो । किनभने नाकको स्नायु तन्त्रले नाकतिरको रगतको प्रवाह घटाएर आँखा र कानतिर पठाएको पाइयो, ताकि शरीर सम्भावित खतरा देख्न र सुन्न तयार रहोस् ।
अनुसन्धानमा के पाइएको भने ‘स्ट्रेस टेस्ट’ सहभागी धेरैजसोको नाक केही मिनेटमै सामान्य भए । उनीहरूको नाक फेरि तातो भयो ।
मुख्य अनुसन्धानकर्ता प्रा. गिलियन फोरेस्टरका अनुसार यो परिवर्तनले के देखाउँछ भने नाकको चिसोपन तनाव परिवर्तनको विश्वसनीय संकेतक हो । अर्थात् नाक चिसो हुनु भनेको तनावको संकेत हो ।
वैज्ञानिकहरू भन्छन्–तनाव जीवनको स्वाभाविक हिस्सा हो । तर यस अध्ययनले के देखाउँछ भने यसलाई खतरनाक स्तरमा पुग्नुअघि नै मापन गर्न सकिन्छ ।
अनुसन्धानकर्मी प्रा. फोरेस्टर भन्छिन्, ‘कसैको नाकको तापक्रम सामान्य हुन कति समय लाग्छ भन्ने कुरा त्यो व्यक्तिले तनाव कति राम्ररी नियन्त्रित गर्न सक्छ भन्ने संकेत हुन सक्छ ।’
‘यदि यो निको हुन असामान्य ढिलो छ भने यो चिन्ता वा डिप्रेसनको संकेत हुन सक्छ’, उनी भन्छिन् ।
यो प्रविधिले शरीरको प्रतिक्रिया मात्र मापन गर्छ, त्यसैले यसलाई शिशु वा बोल्न नसक्ने व्यक्तिहरूमा पनि तनावको निगरानीका लागि प्रयोग गर्न सकिन्छ ।
पशुहरूमा प्रयोग
अनुसन्धानकर्ताहरू अहिले यो प्रविधि चिम्पान्जी र गोरिल्ला संरक्षण क्षेत्रमा प्रयोग गर्न तयारी गर्दैछन् । यसको उद्देश्य भनेको यी जनावरहरूको तनाव कसरी घटाउने भनेर बुझ्नु हो । विशेष गरी कठिन अवस्थाबाट बचाइएका जनावरहरूको जीवनस्तर सुधार्न यसरी प्रयोग गरिएको हो ।
अनुसन्धानकर्ताहरूले के पत्ता लगाए भने जब वयस्क चिम्पान्जीहरूलाई बच्चा चिम्पान्जीहरूको भिडियो देखाइयो, उनीहरू शान्त भए र उनीहरूको नाकको तापक्रम बढ्यो ।
यसको अर्थ तनावको सन्दर्भमा साना जनावरहरू खेलिरहेको देख्दा हुने अनुभव, आकस्मिक अन्तरवार्ता वा गणनात्मक कार्यको ठीक उल्टो असर गर्छ ।
ससेक्स विश्वविद्यालयकी अनुसन्धानकर्ता मरिएन पैस्ली भन्छिन्, ‘यी जनावरहरूले हामीलाई भन्न सक्दैनन् कि उनीहरू के महसुस गर्दैछन् । धेरैजसो समय त उनीहरू आफ्ना वास्तविक भावना लुकाउन पनि माहिर हुन्छन् ।’
उनले थपिन्, ‘हामीले सय वर्षभन्दा बढी समयदेखि प्राइमेटहरूलाई अध्ययन गरिरहेका छौं ताकि हामी आफैंलाई मानवलाई राम्ररी बुझ्न सकौं । अब जब हामी मानव मानसिक स्वास्थ्यबारे धेरै कुरा जानिसक्यौं, सायद अब समय आएको छ कि त्यो बुझाइबाट केही फाइदा ती जनावरहरूलाई पनि फर्काइयोस् ।’





प्रतिक्रिया