परराष्ट्रमन्त्री साउद पर्सि अमेरिका जाँदै


काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउद पर्सि अमेरिका जाने भएका छन् ।

पर्सि आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि मन्त्री साउद अमेरिका प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी कात्तिक १९ गते स्वदेश फर्किनेछन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे ब्लिंकेनसँग वासिङ्टन डीसीमा भेटवार्ता गर्ने कार्यतालिका छ ।

भ्रमणमा संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि साउदले भेटवार्ता गर्नेछन् ।

अमेरिकी कांग्रेसका नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि परराष्ट्रमन्त्री साउदले भेट गर्नेछन् । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तर्क्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तर्क्रियामा परराष्ट्रमन्त्री साउद सहभागी हुनेछन् ।

मन्त्री साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement