परराष्ट्रमन्त्री साउदले फेरि दोहोर्‍याए – विपिन जोशीको रिहाइका लागि प्रयास भइरहेको छ

परराष्ट्रमन्त्री साउदले फेरि दोहोर्‍याए – विपिन जोशीको रिहाइका लागि प्रयास भइरहेको छ


महेन्द्रनगर – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् ।

आज आईतबार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औं वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताए ।

‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौं,’ उनले भने, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैं गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’

उनले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारेका छन् । यसअघि पनि पटक–पटक कञ्चनपुर आउँदा उनले पहल भइरहेको बताउने गरेका छन् ।

त्यस अवसरमा विपिनका आमाबुवाले मन्त्री साउदसँग भेट गरी छोराको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए । ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा विपिन सकुशल फर्किने अपेक्षा छ,’ साउदले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौं ।’

नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्ध समेत सन्तुलित रूपमा अघि बढिरहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुता आएको जस्तो देखिन्थ्यो,’ उनले भने, ‘परराष्ट्र नीति छिमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलित रूपमा अघि बढिरहेको छ ।’

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले बिजुली किन्ने विषयमा २ देशबीच सम्झौता भएको उल्लेख गरेका छन् ।