एनपीएलमा काठमाण्डु गोर्खाजसामु कर्णाली याक्सको १५० रनको लक्ष्य

एनपीएलमा काठमाण्डु गोर्खाजसामु कर्णाली याक्सको १५० रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएको हो ।

कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट पारी खेले । उनले २२ बलमा नटआउट ४९ रन बनाए । पवन सर्राफले ३५ र मार्क वाटले ३० रन जोडे । नजिबुल्लाह जदरानले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

कर्णालीको सुरूवात भने खराब रह्यो । पहिलो बलमै ओपनर प्रियांक पाञ्चाल करण केसीको बलमा कट एण्ड बउल्ड भए हुँदा रोयल डक भए । पहिलो ओभरकै अन्तिम बलमा विलियम बोसिस्टोलाई शाहब आलमले रनआउट गरेपछि उसले पहिलो ओभरमै २ विकेट गुमायो ।

त्यसपछि तेस्रो विकेटका लागि मार्क वाट र पवन सर्राफले ५८ रनको साझेदारी गरे । वाट पनि नवौं ओभरमा भीम सार्कीबाट डाइरेक्ट हिटमार्फत् रनआउटको शिकार बने । उनले ३० रन बनाउने क्रममा २७ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

पवन सर्राफले ३५ रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी १२औं ओभरको पहिलो बलमा सन्तोष यादवको एलबीडब्लूको धरापमा परे । नाजिबुल्लह जाद्रान १४ बलमा १२ रन बनाएर पेभिलियन फर्के ।

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारबाट कट एन्ड बउन्ड भएका थिए । १९औं ओभरको अन्तिम बलमा दिपक डुम्रे १० रनको स्थितिमा रशिद खानबाट बोल्ड भए ।

बलिङमा काठमाण्डुका रशिद खानले २ विकेट लिए । उनले ४ ओभरमा ३७ रन दिए । करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए ।

५ खेलमा ३ जीत निकालेको काठमाण्डुका लागि प्लेअफमा पुग्न आईतबारको खेल महत्वपूर्ण छ ।‍ ४ खेलमा १ मात्र जीत निकालेको कर्णालीले प्लेअफ सम्भावना बनाइराख्न आईतबारको खेल जित्नैपर्ने अवस्था छ ।