काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताबाट कर्णाली याक्स बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मंगलबार भएको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै कर्णाली १ खेल अगावै प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको हो ।
मंगलबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर विशाल २०१ रनको योगफल खडा गर्यो । जारी सिजनको दोस्रो उच्च स्कोर हो । यसअघि विराटनगर किङ्ग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो, जुन एनपीएल इतिहासकै उच्च स्कोर हो ।
पोखराका लागि ब्याटिङमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको महत्त्वपूर्ण योगदान दिए । जेशन रोयले ४६, धनञ्जय लक्षनले अविजित २३ र कप्तान कुशल भुर्तेलले १८ रन जोडे । कर्णालीका बलरमध्ये नन्दन यादव र मार्क वाटले १/१ विकेट लिएका छन् ।
२०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्स १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा समेटियो । कर्णालीका लागि मार्क वाटले सर्वाधिक ५९ रनको इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
पोखराका बलर रिसी धवनले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३ विकेट लिए ।
मंगलबारको हारसँगै कर्णाली याक्सले ६ खेलबाट मात्र २ अंक जोड्न सफल भएको छ र प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा एभेन्जर्सले ५ खेलबाट ४ अंक पुर्याउँदै प्लेअफ सम्भावनालाई कायमै राखेको छ ।




प्रतिक्रिया