विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनी लायन्स विजयी

विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनी लायन्स विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले महत्त्वपूर्ण जीत हासिल गरेको छ ।

बुधबार भएको खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जीतमा ओपनर डार्सी सर्ट नायक बने । उनले ४४ बलमा ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

अन्य ब्याट्सम्यानहरूमा सन्दीप जोराले २४, निरोशन डिक्वेलाले अविजित २९ र दिलीप नाथले १६ रनको योगदान दिए । कप्तान रोहित पौडेल भने शून्यमै आउट भए ।

विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले २–२ विकेट लिए भने बसिर अहमदले १ विकेट हात पारेका छन् ।

त्यसअघि त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन जोडे । साम हिटलेटले २७ र बसिर अहमदले २८ रन बनाए । चर्चित खेलाडी जर्ज मुन्से शून्य र फाफ डु प्लेसिस १२ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहेका थिए ।

विराटनगरको इनिङ्स ध्वस्त पार्न लुम्बिनीका स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २५ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले १–१ विकेट लिए ।

यस जीतसँगै लुम्बिनी लायन्सले ६ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । यद्यपि ६ खेलबाट ८ अंकसहित विराटनगर किंग्स भने अझै तेस्रो स्थानमा कायम रहेको छ ।