एनपीएल क्वालिफायर : विराटनगरसामु सुदूरपश्चिमको १५६ रनको चुनौती

एनपीएल क्वालिफायर : विराटनगरसामु सुदूरपश्चिमको १५६ रनको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको चुनौती दिएको छ ।

फाइनल प्रवेशका लागि महत्त्वपूर्ण मानिएको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जीतका लागि १५६ रनको चुनौती दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाउन सफल भएको छ । सुदूरपश्चिमको इनिङ्समा ओपनर विनोद भण्डारीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ५२ बलको सामना गर्दै सर्वाधिक ६३ रनको योगदान दिए । भण्डारीलाई शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोड्दै साथ दिएका थिए । विराटनगरको बलिङतर्फ मर्चेन्ट डे लाङ्गे र प्रतिश जीसीले समान २–२ विकेट लिए ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किंग्सबीच अहिले पहिलो क्वालिफायर खेल भइरहेको छ । लिग चरणमा भने विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो ।

खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग खेल्ने मौका पाउनेछ ।

इलिमिनेटर खेल बुधबार लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाजबीच हुनेछ । ८ टोली सहभागी एनपीएलमा ४ टोली प्लेअफ होडबाट बाहिरिएका छन् ।