काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगरमाथि सानदार जीत निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको छ ।
सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १४ ओभर १ बलमै ७८ रनमा अलआउट भएको हो ।
विराटनगरका ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए तर अन्य ब्याटरले साथ दिन नसक्दा टोली ठूलो अन्तरको हार व्यहोर्यो । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भएका छन् ।
सुदूरपश्चिमका लागि बलिङतर्फ हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेनले २–२ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट झारेका थिए ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । टोलीका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३ र हर्मित सिंह १४ रनमा आउट भए भने स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहेका थिए ।
विराटनगरका बलरमध्ये मार्चन्ट डी लिङ र प्रतिश जिसीले २–२ विकेट लिए भने सूर्य तामाङ र साम हिटलेटले १–१ विकेट लिएका थिए ।
सुदूरपश्चिम अब उपाधिका लागि शनिबार मैदानमा उत्रिनेछ । पराजित विराटनगर किंग्स दोस्रो क्वालिफायरमार्फत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग भिड्नेछ ।




प्रतिक्रिया