यी हुन् एनपीएल-२मा खेल्ने विदेशी खेलाडीहरू

यी हुन् एनपीएल-२मा खेल्ने विदेशी खेलाडीहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सोमबारदेखि सुरु हुँदैछ ।

पहिलो सिजनको सफलतापछि यसपटक प्रतियोगिता अझै भव्य र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पहिलो सिजनझैँ यसपटक पनि सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुनेछन् । जहाँ पहिलो पटक ‘फ्लडलाइट’ जडान गरिएको छ ।

यसपटक पनि पहिलो सिजनझैँ आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जनकपुर बोल्ट्स, काठमाण्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएलका सबै टिमले टेस्ट राष्ट्रका चर्चित खेलाडीहरूलाई आ–आफ्ना टिममा समावेश गराएका छन् । जसका कारण यो संस्करण पनि अघिल्लो संस्करण जस्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

पहिलो सिजनमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलंका, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाका चर्चित खेलाडीहरूको उपस्थितिले एनपीएललाई रोमाञ्चक बनाएको थियो ।

पहिलो सिजनमा सीमित संख्यामा मात्र स्टार खेलाडीहरू एनपीएल खेल्न नेपाल आएका थिए । तर यसपटक दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्याण्डलगायतका देशबाट विश्वस्तरीय खेलाडीहरू अनुबन्धित भएका छन् ।

यसपालि एनपीएलमा इंग्ल्यान्ड र अमेरिकाका ६–६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५–५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, अफगानिस्तान र स्कटल्यान्डका २–२, इटाली र युगान्डाका १–१ खेलाडी खेल्दैछन्

एनपीएलका प्रत्येक टिमले अधिकतम ६ विदेशी खेलाडी अनुबन्ध गर्न सक्छन्, तर प्लेइङ इलेभनमा भने ४ जनासम्म मात्र राख्न पाउँछन् । दोस्रो सिजनमा हालसम्म ३० विदेशी खेलाडी एनपीएलका लागि अनुबन्ध भइसकेका छन् ।

दक्षिण अफ्रिकाबाट यस सिजनमा पाँचजना खेलाडीहरूले एनपीएल खेल्ने पक्का भएका छन्, जसमध्ये फाफ डु प्लेसीस सबैभन्दा चलेको नाम हो । विराटनगर किंग्सबाट खेल्ने फाफ डु टी–२० क्रिकेटका ‘किङ’ नै मानिन्छन् ।

पहिलो सिजनमा सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । यसपटक पनि उपाधि लक्ष्य बनाउँदै अधिकांश टिमले विश्वप्रसिद्ध खेलाडीहरू अनुबन्ध गरेका छन् ।

कुन टिममा को विदेशी खेलाडी ?

जनकपुर बोल्ट्स

पहिलो सिजनमा उपाधि जितेको जनकपुरले दोस्रो सिजनका लागि वेस्ट इन्डिजका शिवनारायण चन्द्रपललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

जनकपुरका मार्की आसिफ शेख र कप्तान अनिलकुमार शाह छन् । यसपटक न्युजिल्यान्डका जिम्मी निशम टिममा रहने छैनन् । जनकपुरले दक्षिण अफ्रिकी वेन पार्नेल र इमरान ताहिर र मिलन्थालाई अनुबन्ध गरिसकेको छ । बाँकी विदेशी खेलाडी घोषणा हुन बाँकी छ ।

जनकपुरले आसिफ, कप्तान अनिल, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन गरेको हो ।

काठमाडौं गोर्खाज

काठमाडौं गोर्खाजका लागि करण केसी मार्की खेलाडी हुन् ।

गोर्खाजले विदेशी कोटा पूरा गर्दै दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंग्ल्यान्डका बेन चाल्र्सवर्थ, अमेरिकी सन्नी पटेल र जोहन सिम्पसनलाई अनुबन्ध गरेको छ ।

टिमले भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ । अक्सनमार्फत उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम टिममा आएका छन् ।

लुम्बिनी लायन्स

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स यस सिजनमा अफगानिस्तानका गुलबदीन नैब, इटालीका बलर थोमस ड्राका र अष्ट्रेलियाका डी’आर्सी सर्टलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेक गौतम र तिलक भण्डारीलाई रिटेन गरेको छ । अक्सनमार्फत दिलीप नाथ, दुर्गेश गुप्ता, शेर मल्ल, आदिल खान र विशाल पटेल टिममा आएका छन् ।

चितवन राइनोज

चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् । चितवनले इंग्ल्यान्डका डेविड मलान, रवी बोपारा, सेफ अली जैब र पाकिस्तानका सोहेल तन्विरलाई अनुबन्ध गरेको छ ।

टिमले रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रौतेला, गौतम केसी र कमलसिंह ऐरीलाई रिटेन गरेको छ । अक्सनबाट अर्जुन साउद, देव खनाल, विपिन रावल, रञ्जित कुमार र विपिन आचार्य टिममा आएका छन् ।

विराटनगर किंग्स

सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर किंग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्चेन्ट डे लाङ, न्युजिल्यान्डका मार्टिन गुप्टिल, स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ ।

त्यस्तै विराटनगरले प्रतिश जिसी, लोकेश बम, बशीर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।

पोखरा एभेन्जर्स

पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । विदेशी खेलाडीका रूपमा इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरिएको छ ।

टिमले आकाश चन्द, त्रिर्थराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई रिटेन गरेको छ । अक्सनमार्फत अर्जुन कुमाल, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र कृष्ण पौडेल टिममा आएका छन् ।

कर्णाली याक्स

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी हुन् ।

विदेशी खेलाडीमा अष्ट्रेलियाका विल बोसिस्टो र नेदरल्याण्ड्सका म्याक्स ओ’डाउड छन् ।

टिमले गुलशन कुमार झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश विक्रमसिंह ठकुरी र विपिन शर्मा लाई रिटेन गरेको छ ।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम रोयल्सले पनि बलियो टिम तयार गरेको छ ।

सुदूरपश्चिमले अस्ट्रेलियाका जोस ब्राउन, क्रिस लेन र स्कट कुग्गेलिनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

टिमले विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । अक्सनमार्फत दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, टेकबहादुर रावत र दीपेन्द्र थापा अनुबन्ध भएका छन् ।