मौद्रिक नीतिको समीक्षालाई शेयर बजारको स्वागत, दोहोरो अंकको वृद्धि

मौद्रिक नीतिको समीक्षालाई शेयर बजारको स्वागत, दोहोरो अंकको वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देश चुनावी चटारोमा रहेका बेला नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्‍यो । अर्धवार्षिक समीक्षामार्फत् व्यावसायिक वातावरणलाई प्रोत्साहन गर्ने उद्देश्यले नीतिगत सहजता अपनाएपछि शेयर बजारमा हरियाली छाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट स्थायी सरकार आउनसक्ने आशामा शेयर लगानीकर्ता छन्, जसकारण गत माघ ५ गतेदेखि बजारमा उतारचढाव छ ।

यहीँबिच राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेर व्यावसायिक वातावरण बनाउन खोजेको सन्देश दिनुका साथै बैंकहरूलाई लगानीमा राहत दिएको छ ।

फलस्वरुप बुधबार जीवन बीमा समूह १.७९, बैंकिङ ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, माइक्रो फाइनान्स ०.१५, निर्जीवन बीमा ०.१९, अन्य ०.३५ प्रतिशत बढे । नेप्सेका १३ मध्ये बुधबार वित्त, म्युचल फन्ड र व्यापार समूह ओरालो लागेका छन् ।

राष्ट्र बैंकले मंगलबार मात्र बैंक तथा वित्तीय संस्थाबाट चालू पुँजी कर्जा लिएका ऋणीले त्यसको बक्यौता ३० प्रतिशतसम्म कायम राख्न पाइने बनाएको थियो । उद्यमका लागि आवश्यक कच्चा पदार्थ खरिद गर्न, कर्मचारीलाई तलब दिन, पसल वा कारखानाको भाडा तिर्न, बिजुली, पानी, ढुवानी खर्च गर्न चालू पुँजीका रूपमा ऋण लिन पाउने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुुपात ०८२ असारमा औसत ४.६२ प्रतिशत रहेकोमा ०८२ पुसमा औसत ५.४२ प्रतिशत पुगेको छ ।

कालोसूचीमा परेका ऋणीले उचित कारण पेश गरी कर्जा चुक्ता गर्न चाहेमा बैंकहरूले ६ महिनासम्म कालोसूचीबाट हटाई बक्यौता असुल गर्न सक्ने विद्यमान प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरिने गरी संशोधन गरिएको छ ।