एनआरएनए चुनाव : अध्यक्ष पदमा उम्मेदवारी शुल्क ५ लाख

एनआरएनए चुनाव : अध्यक्ष पदमा उम्मेदवारी शुल्क ५ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुने विश्व सम्मेलन तथा महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ ।

महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ । युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ । सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले जानकारी दिए ।

निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए । उनका अनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् ।

क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना निर्वाचित हुने भएका हुन् । दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ ।

संघको विधान २००३ (संशोधन २०२२) को दफा १७.२ र संघको निर्वाचन सम्बन्धी नियमावली, २०२१ (संशोधन २०२३) को नियम ६ बमोजिम आगामी कार्यकाल २०२३–०२५ का लागि नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

संघको निर्वाचन कार्यतालिकाअनुसार प्रारम्भिक मतदाता नामावली प्रकाशन असोज ७ गते हुनेछ भने मतदाता नामावलीउपर दाबी विरोध गर्ने समय असोज ८ र ९ गतेका लागि दिइएको छ । मतदाता नामावलीउपर परेको दाबी विरोधमाथि असोज ९ देखि ११ गतेसम्म छानबिन हुनेछ भने त्यसपछि १२ गते अन्तिम नामावली प्रकाशित हुनेछ ।

यसपटक उम्मेदवारी मनोनयन विद्युतीय माध्यमबाट नै पेश गर्न सकिने व्यवस्था गरिएको छ । विगतमा काठमाण्डुमै भेला भएर उम्मेदवारी दिने प्रचलन रहेको थियो । विद्युतीय माध्यमबाट मनोनयन पेश गर्नेको हकमा प्रस्तावक र समर्थकसहित अनिवार्य रूपमा उपस्थित भई सनाखत गराउनुपर्नेछ । भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ । भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ ।

मनोनयन दर्तापछि असोज २९ गते उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ । सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दावी विरोधको समय दिइएको छ भने त्यसपछि असोज ३० गते मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ ।

असोज ३० गते उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिनेछ भने सोही दिन मनोनयनपत्र फिर्ताको समय पनि दिइनेछ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदानको प्रक्रिया सुरू गरिनेछ । जसअनुसार विद्युतीय माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई नामावली उपलब्ध गराएर त्यसको भोलिपल्ट अर्थात् कात्तिक १ गते डेमो निर्वाचन पनि गराइनेछ । त्यसपछि कात्तिक २ गते औपचारिक रूपमा मतदान हुनेछ ।

भौतिकरूपमा उपस्थित हुनेका लागि होटल सोल्टीमा आवश्यक व्यवस्था मिलाइएको संघले जनाएको छ । मतगणना र घोषणा पनि होटल सोल्टीमै हुनेछ ।