काठमाण्डुमा एनआरएनएको ग्लोबल सम्मेलन हुने

काठमाण्डुमा एनआरएनएको ग्लोबल सम्मेलन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाण्डुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल सम्मेलन हुने भएको छ ।

कात्तिक ११ र १२ गते आयोजना हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका ५०० भन्दा बढी व्यक्तिको सहभागिता रहने र ७ वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुने कार्यतालिका छ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवद्र्धन नीति निर्माण, अपेक्षा चुनौति र एनआरएनएको भूमिका लगायत सत्रहरू रहने छन् ।

विगतमा असन्तुष्ट समूहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै वार्षिक साधारण सभालाई एकताको सभा बनाइने विषयमा छलफल भइरहेको एनआरएनए केसी समूहका अध्यक्ष डा. बन्द्री केसीले बताए ।

एनआरएनए केसी समूहका उपाध्याक्ष रामशरण सिंखडाले पनि एनआरएनएमा देखिएका कमीकमजोरीलाई सच्याउँदै सबैलाई एकतामा ल्याउने प्रयास गरिने बताए । अर्का उपाध्यक्ष डा. हेमराज शर्माले सम्मेलनले एनआरएनका लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन दिने बताए । सोही पक्षका उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनका कारण महिला तथा बालबालिकामा परेको असरका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताए ।

परिषद्का महासचिव गौरीराज जोशीले एनआरएन डेभलपमेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीलगायत सरोकारवालासँग छलफल हुने जानकारी दिए । उनका अनुसार कात्तिक १२ गते गैरआवासीय नेपाली संघको विधानअनुसार नियमित वार्षिक साधारणसभा आयोजना गरिनेछ ।

संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने उनले बताए ।

साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरू तथा साधारणसभा प्रतिनिधिहरू काठमाण्डु आइसकेका छन् ।