एनआरएनएलाई सरकारको निर्देशन : अनलाइन मतदानको व्यवस्था गर्नू

एनआरएनएलाई सरकारको निर्देशन : अनलाइन मतदानको व्यवस्था गर्नू


काठमाण्डु – सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई १२औं महाधिवेशनको निर्वाचनमा विधानअनुसार अनलाइन सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले १२औं महाधिवेशनमा विधानअनुसार भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न संघलाई निर्देशन दिएको हो ।

मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, ‘गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ र सोही विधानको दफा २१.१० मा व्यवस्था भए बमोजिम निर्वाचन अनलाइन अथवा भौतिक रूपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नुपर्नेछ ।’

निर्वाचनमा अधिकतम प्रतिनिधि भौतिकरूपमा उपस्थित हुने व्यवस्था रहेको उल्लेख गरेको छ । ‘उपस्थित हुन नसक्नेको हकमा विधानको व्यवस्था बमोजिम अनलाइनमार्फत सहभागी हुने गरी गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै त्यसअनुसार आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी गर्न आग्रह गरेको छ ।