लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ तथा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठित मन्त्रिपरिषदलाई हार्दिक बधाई दिँदै जनादेशले देशमा स्थायित्व, पारदर्शिता र समावेशी विकास अघि बढाउने महत्त्वपूर्ण अवसर प्रदान गरेको जनाएको छ ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ ।
नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबिचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण हुने वक्तव्यमा जनाइएको छ ।
‘नयाँ सरकारसँग विश्वभरका नेपालीहरूको ऊर्जा, सीप र अनुभवलाई उपयोग गर्दै राष्ट्र निर्माणलाई तीव्रता दिने ऐतिहासिक अवसर रहेको छ । विश्वभरका गैरआवासीय नेपालीहरू लगानी, ज्ञान आदानप्रदान, सीप हस्तान्तरण तथा अन्तरराष्ट्रिय सञ्जालमार्फत नेपालको विकासमा योगदान गर्न सदैव तयार छन्,’ विज्ञप्तिमा भनिएको छ ।
विदेशमा बसोबास गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै उनीहरूको भाषा, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाइराख्नु दीर्घकालीन राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण हुने बताउँदै एनआरएनए यूकेले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई अझ मजबुत बनाउन नयाँ सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेको छ ।
भारत र चीनजस्ता उदाउँदा शक्तिहरूबिच अवस्थित नेपालले सन्तुलित, स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । सबै अन्तरराष्ट्रिय साझेदारहरूसँग रचनात्मक सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता, गरिमा र राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा वर्तमान जटिल भूराजनीतिक अवस्थाबीच नेपालले आफ्नो परम्परागत तटस्थता, विश्वसनीयता र रणनीतिक सन्तुलन कायम राख्नुपर्ने बताइएको छ । यसले अन्तरराष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता सुदृढ बनाउने र सबै निर्णयहरू नेपाली जनताको सर्वोत्तम हितमा केन्द्रित हुने सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ ।
अन्य राजनीतिक दलहरूलाई पनि जनताबाट आएको सन्देश आत्मसात गर्दै आवश्यक सुधार गर्न र नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्न आग्रह गरिएको छ । लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन र दीर्घकालीन राष्ट्रिय हित प्रवर्द्धन गर्न सबै राजनीतिक शक्तिहरूबिच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
संयुक्त अधिराज्यमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै विज्ञप्तिमा नेपालमा दिगो शान्ति, स्थायित्व र समृद्धि स्थापना होस् भन्ने कामना गरिएको छ ।




प्रतिक्रिया