काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी नेपाल आएका छन् । परराष्ट्र मन्त्रालयले एनआरएनए, राष्ट्रिय परिषद्को निर्वाचन र प्रतिनिधि छनोटलाई लिएर उत्पन्न विवाद समाधानका लागि वार्ता गर्न संघका पदाधिकारीलाई नेपाल झिकाएको हो ।
नेपालस्थित एनआरएनए कार्यालयका सीईओ राजेश रानाका अनुसार वार्ताका लागि संघका उपाध्यक्ष डा बद्री केसी शनिबार बिहान नेपाल आइपुगेका छन् भने अध्यक्ष कुमार पन्त साँझसम्म आइपुग्नेछन् । उनले मन्त्रालय र संघका पदाधिकारीबीच सोमबार वार्ता हुने बताए ।
आगामी अक्टोबर २३–२५ मा हुने संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ६४ देशमा निर्वाचन भइसकेको छ । परिषद्को निर्वाचनबाट ३५ सयभन्दा बढी प्रतिनिधि छनोट भइसकेको अवस्थामा निर्वाचनमा अनियमितता भएको भन्दै संघका तीन जना सदस्यहरुले मन्त्रालयमा उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा मन्त्रालयले तत्कालै अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन प्रक्रिया अघि नबढाउन संघलाई निर्देशन दिएको थियो । यसका साथै मन्त्रालयले निर्वाचनबारे छानबिन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । लतर छानबिनका लागि समय निर्धारण नगरेकाले परिषद्को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संघले सत्ताको माथिल्लो तहबाट संघमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ ।




प्रतिक्रिया